रुपन्देही प्रहरीद्धारा २३ वटा चोरीका मोटरसाइकल बरामद

रुपन्देही खबर , ७३८  पटक हेरिएको

भैरहवा, पुस १२

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले २३ वटा चोरीका मोटरसाइकल बरामद गरेको जनाएको छ । नेपालबाट भारत र भारतबाट नेपालतर्फ चोरीका मोटरसाइकल किनेर चलाउने गरेको पाइएपछि प्रहरीले पुस १ गते देखी क्लिन स्वीप अपरेसन अभियान नै संचालन गरी सक्रियता बढाए संगै चोरीका मोटरसाइकल बरामद हुन थालेका हुन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी बरामद मोटरसाइकल र चोरी तथा लागूऔषध कारोबार एवं ओसारपसारमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिहरुलाई समेत सार्वजनिक गरेको छ । प्रहरीले मोटसाइकल चोरीमा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरेको जनाएको छ ।


रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर वि.क.ले चोरीका मोटरसाइकल नियन्त्रणका लागि शंकाष्पद व्यक्तिको घरमै पुग्ने बताउनु भएको छ । उहाले चोरीको मोटरसाइकल चेकजाँचमा मात्र नभइ सूचनाको आधारमा चोरी भएका मोटसाइकल राखिएको घरमा पुगेर मोटरसाइकल र व्यक्ति नियन्त्रणमा लिइने बताउनु भएको छ । उहाले जिल्लामा कमजोर तथा बलियो आर्थिक हैसियत भएका परिवारका युवा समेत चोरीका मोटरसाइकल चढ्ने गरेको पाइएको बताउनु भएको छ । उहाले युवा वर्गले चोरीका मोटरसाइकल १० देखि २० हजारसम्ममा किनेर चढ्ने गरेको पाइएकाले सवारीसाधनको कागजात हेरेर मात्र खरिद गर्न आग्रह गर्नु भएको छ ।

प्रहरीले जिल्लामा हुन सक्ने चोरी, डकैती, लुटपाटका घटना, लागूऔषध दुव्र्यसन नियन्त्रण तथा न्यूनीकरण र फैसला कार्यान्वयन क्रममा फरार प्रतिवादी पक्राउका लागि गत पुस १ गतेदेखि ‘क्लिन स्वीप अपरेशन’ सञ्चालन गरेको छ । यसअवधिमा रोयल इनफिल्ड २, बजाज पल्सर १५० १, हिरो स्पेलेन्डर प्लेस ६, बजाज पल्सर २२० ३, यामाहा एफजेड १ गरी विभिन्न ब्राण्ड र मोडलका २३ वटा मोटरसाइकल बरामद गरिएको बताउनु भएको छ । त्यस्तै प्रहरीले २ वटा कार बरामद गरेको छ । यसअवधिमा २४ सैं घण्टा प्रहरी परिचालन गरेर अपराध नियन्त्रणको काम भइरहेको उहाले बताउनु भएको छ ।

यसका साथै लागूऔषधतर्फ ७ वटा र मोटरसाइकल चोरीतर्फ ४ वटा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । लागूऔषधको कारोबार तथा ओसारपसारमा संलग्न रहेको आरोपमा ९ जनालाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ । एसपी विकका अनुसार यस अवधिमा अदालतको फैसला कार्यान्वयनका क्रममा १०२ जना प्रतिवादी पक्राउ परेका छन । पक्राउ परेका व्यक्तिहरुलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ । उनीहरुबाट १९ वर्ष ११ महिना १७ दिन कैद भुक्तान र १२ लाख ८२ हजार ७ सय ११ रुपैयाँ जरिवाना असुलउपर हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-१२-२८ , समय : २३:४८:२३ , ११ महिना अगाडि