भानु माविमा निर्माण हुने चारकोठे भवनको गृहमन्त्री पाण्डेयद्वारा शिलान्यास

रुपन्देही खबर , ३९१  पटक हेरिएको

भैरहवा,पुस ९

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित श्री भानु माध्यमिक विद्यालयमा निर्माण हुने चारकोठे भवनको शिलान्यास गरिएको छ । सोमबार भवनको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले शिलान्यास गर्नु भएको हो ।

सो अवसरमा बोल्दै मन्त्री पाण्डेयले शिक्षा क्षेत्रको विकासले मुलुकको विकास हुने भएकाले प्रदेश सरकारले शिक्षाको विकासमा जोड दिएको बताउनु भएको छ । उहाले शिक्षाको विकासका लागि विद्यालयको भौतिक पूर्वाधार निर्माणमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताउनु भएको छ ।

विद्यार्थीहरुको पठनपाठनका लागि केही कक्षाकोठाको अभाव रहेकोले अब निर्माण हुने भवनले सहयोग गर्ने श्री भानु माविका प्रधानाध्यापक मोतीलाल सुवेदीले बताउनु भएको छ । उहाले भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकारबाट ३० लाख रुपैयाँ उपलब्ध भएको र चैत महिनासम्म निर्माणसम्पन्न हुने गरी सम्झौता भएको जानकारी दिनु भएको छ ।

‘भवनको फिनिसिङलगायतका कार्यका लागि थप बजेट आवश्यक पर्छ, बजेटका लागि प्रदेश सरकारसँग माग गरेको छौं, ’सुवेदीले भन्नु भयो । उहाले भवन निर्माणका लागि बजेट विनियोजन गर्ने प्रदेश सरकारलाई धन्यवाद दिदै भवन निर्माण कार्य पूर्ण रुपमा सम्पन्न गर्न आवश्यक थप बजेट विनियोजन गर्न आग्रह गर्नु भएको छ ।

भवन शिलान्यास कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फैज अहमद खान, समाजसेवी, राजनीतिक दलका प्रतिनिधिहरु, विद्यालयका शिक्षकशिक्षिका, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२३-१२-२५ , समय : १७:५७:२५ , ११ महिना अगाडि