गौतबुद्धको शिक्षा र उपदेशलाई आत्मसाथ गर्नुपर्ने:प्रधानमन्त्री प्रचण्ड

रुपन्देही खबर , २५६  पटक हेरिएको

परासी, मंसिर २७

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गौतबुद्धको अस्तुधातु रहेको रामग्रामबाट विश्व शान्तिका लागि बुद्धको उपदेशको आवश्यकता रहेको बताउनु भएको छ । लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका र द प्रोमिस ल्यान्ड नामक संस्थाको आयोजनामा मंगलबार रामग्राममा आयोजित विश्व शान्तिका लागि दीप प्रज्वलन र रामग्राम क्षेत्रको विकासको दुरगामि योजना शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाले वर्तमान समयमा बुद्धका उपदेशहरुको आवश्यकता बढ्दै गएको बताउनु भएको हो। उहाले विश्वका शान्तिका पक्षधरहरुले गौतबुद्धको शिक्षा र उपदेशलाई आत्मसाथ गर्नुपर्ने बताउनु भयो यसलाई ‘मानव जाती रहेसम्म बुद्धको दर्शन र उपदेशको औचित्य र आवश्यकता रहन्छ उहाले भन्नू भयो । ‘म रामग्रामको पवित्र भूमिबाट शान्तिका लागि विशेष अपील गर्छु ।’

प्रधानमन्त्री प्रचण्डले युद्धबाट शान्तिको सन्देशलाई विश्वव्यापी बनाउने सन्दर्भमा सम्राट अशोकसँग आफ्नो भावना र समवेदना जोडिएको बताउनु भएको छ । उहाले गौतमबुद्धका शिक्षा र उपदेशलाई महत्वलाई स्थापित गर्न सम्राट अशोकले खेलेको भूमिका निकै उच्च रहेको बताउनु भयो । ‘युद्धका कमाण्डर, सामाज्य स्थापित गर्ने सम्राटले युद्धबाट शान्ति खोज्दै बुद्ध जन्मथल लुम्बिनीमा अशोक स्तम्भ स्थापना गरेर बुद्धको शिक्षा विश्वभर फेरी एकचोटी नयाँ शिराबाट संसारमा लैजाने जमर्कोबाट प्ररेणा प्राप्त भएको हो’ प्रधानमन्त्री प्रचण्डले भन्नु भयो ।

उहाले पहिले र अहिले पनि आफूले शान्तिका लागि गरेको अपीलसँग आफ्नो भावना सम्राट अशोका मिलेको बताउनु भयो ‘मानिसहरुले विभिन्न अर्थ लगाउन सक्छन् तर रामग्राम स्तुपको अगाडि उभिएर देशबाहिर र भित्र पनि बुद्धको उपदेशलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्ने दृढता व्यक्त गर्न चाहन्छु’ उहाले भन्नु भयो ।

उहाले त्यति ठूलो युद्धबाट आएको व्यक्तिले शान्ति कायम गर्न सक्दा आफू सानो युद्धबाट आएको व्यक्ति भएकाले शान्ति स्थापना गर्न कुनै कन्जुस्याई नगर्ने प्रतिबद्धता जनाउनु भयो । प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र संघका महासचिव एन्टिरियो गुटरेससँगै लुम्बिनीबाट गरेको विश्व शान्तिको अपिल व्यवहारिक बनेको समेत बताउनु भएको छ। ‘लुम्बिनी भ्रमणका बेला महासचिवसँगै गरेको विश्व शान्तिको अपील यूएईमा भएको कोपमा गएर ठोस परिणाममा रुपान्तरण भएको छ’ उहाले भन्नु भयो ।

प्रधानमन्त्री प्रचण्डले रामग्राम बुद्धको एक मात्र अस्तुधातु रहेको स्थलका रुपमा परिचित रहेको बताउँदै यस स्थलले विश्व शान्ति र धार्मिक साँस्कृतिक विकासका लागि भूमिका खेल्ने बताउनु भएको छ । प्रधानमन्त्री प्रचण्डले रामग्राम स्तुपमा मध्यान्ह १२ बजेर १२ मिनेटमा विश्व शान्तिका लागि दीप प्रज्ववलन गर्नु भएको थियो । ‘रामग्राम स्तुप अगाडि उभिएर विश्वशान्तिका लागि दीप प्रज्ववन गर्न पाए, यसले रामग्रामको ऐतिहासिक महत्व विश्वमाझ गएको छ’ उहाले भन्नु भयो ।

प्रधानमन्त्री प्रचण्डले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा बृहत्तर लुम्बिनी क्षेत्र विकास योजना बनाएर लुम्बिनी, रामग्राम र तिलौराकोटलाई जोडेर विश्व शान्ति नगर बनाउने योजना बनाएको स्मरण गर्नु भएको थियो । उहाले आफूले तत्कालिन यूएनका महासचिव वानकीमुनसँग बृहत्तर लुम्बिनीको विकासका लागि प्रतिवद्धता आएको बताउँदै हालै महासचिव गुटरेसको भ्रमणले नयाँ ईट्टा थप्ने काम गरेको बताउनु भएको छ। त्यस्तै उहाले जलावयू परिवर्तनले पारेको प्रभाव हेर्दा हिमाल र पहाडको संरक्षणका लागि विश्वको ध्यान तान्न सकेको बताउनु भएको छ ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बुद्धका उपदेशलाई विश्वव्यापी बनाउने सम्राट अशोकसँग तुलना गर्दै युद्धबाट शान्तिमा आएको बताउनु भएको छ । उहाले युद्धबाट शान्ति र शान्तिबाट समृद्धिको नेतृत्वमा प्रधानमन्त्री लागेको बताउनु भएको छ । उहाले रामग्रामसहित लुम्बिनी क्षेत्रको विकासमा समेत प्रधानमन्त्रीको नेतृत्व रहने विश्वास व्यक्त गर्नु भयो । उहाले बुद्ध जन्मस्थल लुम्बिनी र अस्तुधातु रहेको एक मात्र ठाउँ रामग्राम नेपालमै रहेको स्मरण गर्दै यसको विकास आवश्यक रहेको बताउनु भएको हो । उहाले रामग्राम स्तुपलाई १५ सय वर्षअघिको अवस्थाका झल्को दिनेखालका गतिविधि गर्न सकेमा धार्मिक पर्यटकहरुलाई आर्कषित गर्न सकिने बताउनु भयो। लुम्बिनी क्षेत्रमा सम्पदा गाउँ निर्माण गर्ने योजना बनाउने सोँच रहेको बताउनु भयो । बुद्ध सर्किटलाई केन्द्रमा राखेर विमानस्थल सञ्चालन गरेको बताउँदै त्यसलाई राम्रोसँग चल्न नसकेको उहाले स्वीकार गर्नु भयो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा संविधानसभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बुद्धको महापरिनिर्माण भएपछि ८ भागमा विभाजन गरिएका स्तुपा मध्येको रामग्रामको मात्रै अस्तिवत्वमा रहेको स्तुपा रहेकाले यसको महत्व अतुलनीय रहेको बताउनु भएको छ। उहाले रामग्राम स्तुप बुद्धको जीवनको निकै महत्वपूर्ण स्थल रहेकाले यसको बृहत्तर विकासका लागि कोषका तर्फबाट पहल भइरहेको बताउनु भयो । उहाले रामग्राम स्तुपबाट विश्वभरका मानव जाती र प्राणी जगतको कल्याणको कामना सहित विश्व शान्तिका लागि दिप प्रज्वलन समेत गरिएको बताउनु भयो । उहाले अहिले लुम्बिनी क्षेत्रको गुरुयोजना निर्माण गरी यहाँ पूर्वाधार विकास गर्ने योजनाका साथ दुरदर्शी योजनाको शुभारम्भ गरिएकाले सबैलाई सहयोगका लागि अपिल गर्नु भएको छ।

कार्यक्रममा रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले स्थानीय तहसँग सहकार्य गरी गुरुयोजनाको काम पुरा गर्नुपर्नेमा जोड दिदै संघिय सरकारसँग प्रर्याप्त बजेट बिनियोजनको माग गर्नु भएको छ । रामग्राम स्तुपसँगै बुद्ध जन्मस्थललाई समेटेर बुद्ध सर्किटको निर्माण गर्नका लागि प्रधानमन्त्रीको ध्यानार्कषण गराउनु भएको थियो ।

कार्यक्रममा भारतीय सत्तारुढ दल भाजपाका सांसद् राम माधवले नेपाल भुगोलमा सानो भए पनि ऐतिहासिक तथा पुरातात्विक स्थलका हिसाबले ठुलो मुलुक रहेको बताउनु भएको छ । नेपाल–भारत बीचका वुद्धकालिन स्थलहरुबीच सम्बन्ध स्थापित गरी पर्यटनको माध्यमबाट सम्वृद्धि हासिल गर्नुपर्नेमा उहाले जोड दिनु भयो।

आरक्टिेक्ट स्टेफानो रोयले रामग्राम स्तुपको गुरुयोजनाको बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रममा  पतञ्जली योग पिठ भारतका अध्यक्ष आचार्य बालकृष्ण, विदेशी स्टेफाना, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, द प्रोमिस ल्यान्डका अध्यक्ष निकेश अधिकारी लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा रामग्राम विकासको गुरुयोजना प्रस्तुत गरिएको थियो । लुम्बिनी विकास कोषले ‘ द प्रमिश ल्याण्ड’ नामक सस्था संस्था सहकार्य गरी उक्त परियोजना अगाडी बढाउने तयारी गरेको छ । 

कार्यक्रममा प्रदेश सभा सदस्यहरु, नगरप्रमुख लगायत जनप्रतिनिधि र स्थानीयहरुको सहभागीता रहेको थियो । रामग्राम स्तुप शान्तिका अग्रदुत गौतम वुद्धको एक मात्र सिंगो अस्तु रहेको स्थल हो । केही दिन अगाडी मात्रै सो क्षेत्रमा पुरातत्व विभागले गरेको उत्खननका क्रममा विभिन्न वुद्धकालिन संरचना जमिनमुनी फेला परेको थियो । सोमबार साँझ विश्व शान्तिको कामना गर्दै १ हजार ११२ शान्ति दीप क्यान्डिल र ७ हजार दीप प्रज्जवलन गरिएको थियो 

प्रकाशित मिति: २०२३-१२-१३ , समय : ०६:०९:१९ , ११ महिना अगाडि