कञ्चनमा लैंगिक हिंसा बिरुद्ध दिप प्रज्वलन

रुपन्देही खबर , २०३  पटक हेरिएको

कञ्चन,मंसिर २४

रुपन्देहीको कञ्चनमा लैंगिक हिंसा बिरुद्ध दिप प्रज्वलन गरिएको छ। कञ्चन साथी सञ्जालको आयोजनामा लैङ्गिक हिंसा अन्त्यको सुनिश्चित्तता, महिला र बालबालिका मा लगानीको एक्यबद्धता भन्ने नाराका साथ कञ्चन २ को गजेडी बजारमा दीप प्रज्वलन गरिएको हो।

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत अभियानको १५ औं दिनमा गरिएको दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले पुरुषले महिलालाई र महिलाले पुरुषलाई लैंगिक रुपमा गर्ने हिंसा, अमानविय ब्यबहार र दुर्ब्यबहार नै हिंसा भएको बताउनु भयो।

घर वा समाजमा लिंगका आधारमा हुने हिंसाको अन्त्य गरी समुन्नत समाजको निर्माण गर्न र कुनै पनि तरिकाबाट कुनै न कुनै स्थानमा हुने हिंसाका बिरुद्ध आवाज उठाउन र कुनै पनि किसिमको हिंसाको अन्त्यका लागि एक भएर संघर्ष गर्न उत्प्रेरणा र आत्मसाहसलाई बलियो बनाउन १६ दिने अभियानले भुमिका खेल्ने समेत उपाध्यक्ष थापा मगरले बिश्वास ब्यक्त गर्नु भयो।

यसैगरी कञ्चन गाउँपालिकाका उपाध्यक्ष चित्र तुलाचनले समाजमा हुने कुनै पनि हिंसा होस या दुर्ब्यबहारको अन्त्यका लागि समाजलाई सचेत र शिक्षित गराउनु पर्नेमा जोड दिनु भयो। सासुले बुहारीलाई, बुहारीले सासुलाई, आमाले छोरीलाई अथवा श्रीमानले श्रीमतीलाई, श्रीमतीले श्रीमानलाई हेर्ने दृष्टिकोण र सोंचमा समानता हुनु नै लैंगिक समानता भएको उल्लेख गर्दै प्रवक्ता तुलाचनले कसैले कसैका बिरुद्ध भन्दा पनि लैंगिक समानताका लागि हामी प्रतिवद्ध र एक छौं भन्ने सन्देशलाई बढी प्राथमिकता दिनु पर्ने र सोही अनुसार समाजमा हुने हरेक हिंसा र ब्यबहारको अन्त्य गर्न कुनै एकले भन्दा पनि सामुहिक कार्यले मात्र सम्भव हुने बताउनु भयो।

कार्यक्रममा कञ्चन साथी सञ्जालका सदस्य गंगा सुनारले १६ दिने अभियानले समाजको कुनै कुनामा कुनै हिंसाबाट पिडित भई बाहिर आउन नसकेका व्यक्तिहरुलाई कुनै पनि हिंसाको बिरुद्ध आवाज उठाउन सक्ने हिम्मत दिनमा बल पुर्याउन सहयोग गर्ने बताउनु भयो। कुनै पनि हिंसाका बिरुद्ध हामी सधै संघर्षरत भएपनि यो १६ दिनको अभियानमा डबिएर रहेका समाजका उत्पिडन र हिंसालाई बाहिर ल्याउन मद्दत गरि लैंगिक हिंसा गर्ने कुनैपनि ब्यक्ती राज्यको कानुनी दायरामा ल्याई कार्वाही हुन्छ भन्ने सन्देश दिन पनि १६ दिने अभियानलाई बिशेष रुपमा मनाइदै आएको गंगा सुनारले बताउनु भयो।

कञ्चन साथी सञ्जालका अध्यक्ष सुस्मिता सुनारको सहजिकरणमा भएको कार्यक्रममा कञ्चन २ का वडा अध्यक्ष टेक बहादुर गुरुङ, प्रहरी चौकी बेउरीका इन्चार्ज भिम बहादुर बस्नेत, कार्यपालिका सदस्य रञ्जना थारु, वडा सदस्य त्रिवेणी थारु, गजेडी माध्यमिक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष युवराज गुरुङ, बसन्त फुलवारी क्लवका अध्यक्ष शंकर थापा, स्थानीय आमा समूह, ग्रेजुएट समूह, बाल बगैचा ग्रुप लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरुले नेपालको नक्सा बनाई दिप प्रज्वलन गरेका थिए।

प्रकाशित मिति: २०२३-१२-१० , समय : ०९:३७:५६ , ११ महिना अगाडि