उर्मिला यादव यात्री , ५६३ पटक हेरिएको
भैरहवा, मंसिर २०
सिद्धार्थ संजाल रुपन्देहीले यहि मंसिर २२ गते देखि जनआन्दोलन गर्ने घोषणा गरेको छ । गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थल पुर्णरुपमा संचालन हुन नसकेपछि संजालले बिरोध प्रर्दशन गर्दै बिमानस्थल पुर्ण रुपमा संचालनको माग सहित जनआन्दोलन गर्ने घोषणा गरेको हो ।
विगत लामो समयदेखि विमानस्थल पूर्ण रुपमा सञ्चालन हुन नसक्दा रुपन्देहीको ब्यवसायिक, औद्योगिक तथा पर्यटकिय लगायतका क्षेत्रमा गरिएको लगानी जोखिममा परेको भन्दै बाध्य भएर जनआन्दोलन गर्नु परेको सिद्धार्थ संजाल रुपन्देहीका संस्थापक अध्यक्ष अनिल ज्ञवालीले जानकारी दिनु भएको छ । उहाका अनुसार यही मंसिर २२ गते शुक्रबार बिहान ११ बजे देखी भैरहवाको देवकोटा चोकबाट बृहत प्रर्दशन रयाली सुरु भइ बजार परिक्रमा गर्दै बुद्धचोकमा पुगेर कोणसभामा परिणत हुुनेछ । रयालीमा हजारौ भन्दा बढी जनसहभागिता रहने अध्यक्ष ज्ञवालीले बताउनु भयो । उहाले यो पहिलो धक्का भएकोले रयालीमा सहभागी हुन रुपन्देहीको बुटवल, देवदह, लुम्बिनी ,मायादेवी, तिलोत्तमा, सियारी लगायत नवलपरासी क्षेत्रका सम्पूर्ण नागरिक समाज, बुद्धिजीवि, उद्योगी, व्यवसायी, राजनीतिज्ञ तथा सम्पूर्ण नागरीकजनमा आग्रह गरीएकोे बताउनु भएको छ । यसको तयारीको लागी बिभिन्न उपसमितीहरु गठन गरीएको उहाले जानकारी दिनु भयो । उहाले आफनो अध्यक्षता तथा चन्द्रप्रकाश श्रेष्ठको संयोजकत्वमा ५०१ सदस्यिय मुल संघर्ष समिती गठन गरेको बताउनु भयो । १०१ सदस्यिय सल्लाहकार समिती जसमा सबै संघसंस्थाका अध्यक्ष तथा राजनितीकदलका अध्यक्षहरुलाई सल्लाहकार समितीमा राखिएको छ । १६ वटा विभिन्न उपसमितिहरु तथा ११ सदस्यीय प्रचारप्रसार समिती समेत गठन गरीएको उहाले जानकारी दिनु भयो ।
अध्यक्ष ज्ञवालीले यहि मंसिर २० गते देखि जनआन्दोलनको बिषयमा रिक्सामार्फत जिंगल प्रसारण गरी प्रचार प्रसार गर्ने लगायतका बिषयमा छलफल गरी अगाडी बढने हुदा पत्रकार सम्मेलन मार्फत छलफल तथा सुझाव संकलन गरीएको बताउनु भयो । उहाले दबाबमूलक कार्यक्रम अन्तर्गत २३ गते तयारी संगै २४ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडी धर्ना कार्यक्रम र २५ गते देखी सबै एयरलायन्सहरुलाई टिकट नकाटन अनुरोध गरिए संगै मंसिर २५ गतेदेखि विमानस्थलबाट हुने सबै आन्तरिक उडान बन्द गर्ने कार्यक्रम रहेकोले यो कार्यक्रम एकदमै शान्त र कुनै पनि किसीमको आग्रह पुर्वाग्रह नरहने समेत बताउनु भएको छ ।
नेपाली जनताको करबाट नेपाल सरकारले ४३ अरब लगानी गरी बिमानस्थल निमार्ण गरेकोले बिमानस्थलको लगानी सुरक्षित र व्यवस्थित गर्न माग राख्दै बिमानस्थल सहि तरिकाले संचालन गर्नका लागी जनआन्दोलनमा उत्रिएको ज्ञवालीले बताउनु भयो । उहाले हामी सरकार र ब्यवस्था बिरोधी नभई सरकारलाई घचघचाएको उल्लेख गर्दै सरकारले आफनो सम्पतिलाई सुरक्षित र ब्यवस्थित गर भन्दै संचालन गर्न माग गरेको जोड दिनु भयो ।
यस्तै गरी अध्यक्ष ज्ञवालीले प्रधानमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई भेटेर माग पूरा गराउन ज्ञापनपत्र दिइसकेको समेत बताउनु भएको छ । सञ्जालका वरिष्ठ उपाध्यक्ष तथा आन्दोलन संघर्ष समितिका संयोजक चन्द्रप्रकाश श्रेष्ठले गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थल उदघाटन भएको १६ महिना पुग्दा पनि पुर्ण रुपमा संचालनमा आउन नसक्दा पर्यटकीय क्षेत्रमा धेरै प्रभाव परेको बताउनु भयो । उहाले लुम्बिनी प्रदेशका विभिन्न निजी क्षेत्रको व्यवसायिक संघ–संस्था, पर्यटन व्यवसायी, नागरिक समाज र राजनीतिक दल समेतसँग समन्वय र सहभागीतामा चरणबद्ध आन्दोलन सुरु गर्न लागिएको बताउनु भएको छ । उद्घाटन भएको लामो समय बित्दा पनि विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा निजी क्षेत्रले गरेको अरबौको लगानी जोखिममा परेको श्रेष्ठको भनाइ छ ।
कार्यक्रममा सञ्जालका सल्लाहकार खिमबहादुर खत्री, प्रचारप्रसार समिति संयोजक मधु प्रसाद पन्थी, सञ्जालका महासचिव सञ्जय बजिमय लगायतले विमानस्थल पूर्ण सञ्चालनका लागि दबाब दिन आन्दोलनमा उत्रिनुपरेको बताउनु भएको छ ।
कार्यक्रममा लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना, कार्यवाहक अध्यक्ष कमल रायमाझी र पत्रकार अरुण ज्ञवालीले कार्यक्रम सशक्त बनाउने भनिए पनि उडान रोक्ने कार्यलाई भने पुनर्विचार गर्दा उचित हुने सुझाव दिनु भएको थियो । क्लबका सल्लाहकार कुलमणि ज्ञवाली, महासचिव शंकर पाण्डे, पूर्व सचिव माधव न्यौपाने, पूर्व कोषाध्यक्ष दीपक घिमिरे, कार्यसमिति सदस्य शशी पन्थी लगायतले कहिलेकाही सबैलाई समेटेर प्रभावकारी कार्यक्रम गर्न सुझाव दिनु भएको थियो ।
प्रकाशित मिति: २०२३-१२-०६ , समय : १०:२०:४१ , १२ महिना अगाडि