यसरी हुँदैछ छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० को तयारी

रुपन्देही खबर , ३७७  पटक हेरिएको

भैरहवा, मंसिर १

चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा यही मंसिर ६ देखि मंसिर १८ गतेसम्म भैरहवामा हुने छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) को तयारी तीव्र पारिएको छ । ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बचाऔं’ भन्ने नाराका साथ सिद्धार्थनगर–८ स्थित अञ्चलपुरमा हुने महोत्सव हुँदैछ । हालसम्म ७५ प्रतिशत काम सम्पन्न भइसकेको मेला मूल आयोजक समितिका संयोजक तथा उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले बताउनु भएको छ ।

अध्यक्ष श्रेष्ठले भन्नु भयो, ‘चाडपर्व÷विदाको दिन पनि हामी दिनरात खटिएका छौं, महोत्सवलाई सफल बनाउन लागिपरेको छौं ।’ मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने उहाले बताउनु भएको छ । उद्घाटन भएर पनि हालसम्म नियमित सञ्चालनमा आउन नसकेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनका लागि दबाब दिन मेलाको प्रवेशद्वार हवाइजहाजको आकृतिमा निर्माण भइरहेको उहाले जानकारी दिनु भएको छ । ‘विमानस्थल झल्किने गरी प्रवेशद्वार निर्माण हुँदैछ, ’उहाले भन्नु भयो । महोत्सवमा कुस्ती, भलिबललगायतका खेलकुद प्रतियोगिता सञ्चालन गरिने उहाको भनाइ छ ।

महोत्सव अवलोकन गर्न आउने दर्शकहरुलाई प्रवेश शुल्क वापत ८० रुपैयाँ, विद्यार्थीलाई ५० रुपैयाँ र समूहमा आउने विद्यार्थीलाई ३० रुपैयाँ तोकिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

शनिबार र सार्वजनिक विदाको दिनबाहेक अन्य दिनहरुमा बिहान ९ बजेदेखि ११ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था रहेको उहाको भनाइ छ । त्यस्तै परिचयपत्रको आधारमा ज्येष्ठ नागरिक तथा शारीरिक अशक्तहरुका लागि महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था रहेको बताउनु भएको छ । महोत्सवको करिब ५ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको उहाको भनाइ छ ।

उद्योग व्यापार संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष तथा मेला मूल आयोजक समितिका सह–संयोजक अनिल कुमार ज्ञवालीले उद्योग, व्यापार, कृषि र पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताउनु भएको छ । उहाले भन्नु भयो , ‘महोत्सवमा सुपथ मूल्यमा गुणस्तरीय सामान पाइन्छ । ’उहाले महोत्सवको अवलोकन गर्न आग्रह गर्नु भएको छ ।

संगठनका पूर्वअध्यक्ष तथा मेला मूल आयोजक समितिका सह–संयोजक नारायण प्रसाद भण्डारीले महोत्सवमा दर्शकहरुलाई स्वागत गर्न तयार रहेको बताउनु भएको छ ।

महोत्सवका स्टल निर्माण व्यवस्थापन उपसमिति संयोजक सिकन्दर अली धुनियाले स्टल निर्माण कार्य तीव्र गतिमा अघि बढेको बताउनु भएको छ ।

सिद्धार्थनगर नगरपालिकाको सह–आयोजनामा हुने महोत्सवको संरक्षकमा नेपाल चेम्बर अफ कमर्श काठमाडौं र चेम्बर अफ कमर्श लुम्बिनी प्रदेश रहेको छ ।

 

प्रकाशित मिति: २०२३-११-१८ , समय : ००:२९:४३ , १ वर्ष अगाडि