सिद्धार्थनगर नगरपालिकाद्वारा नगरका मिष्ठान भण्डारहरुमा अनुगमन

रुपन्देही खबर , २८४  पटक हेरिएको

भैरहवा , असोज २१

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले नगरमा रहेका मिष्ठान भण्डार (मिठाइ) पसलहरुमा अनुगमन गरेको छ । कार्यालयले नियमित बजार अनुगमन अन्तर्गत आइतबार मिष्ठान पसलहरुमा अनुगमन गरेको हो ।

अनुगमन टोलीले नगरमा रहेको पवन मिष्ठान भण्डार, नन्दन स्विट्स, दिव्यम स्विट्स एण्ड स्नायक्स्, माखन भोग स्विट्स, साँवरिया र श्याम मिष्ठान भण्डारमा अनुगमन गरेको हो ।

अनुगमन गरिएको मध्ये नन्दन स्विट्स बाहेक सबै मिष्ठान पसलले उपभोग गर्न नमिल्ने खाने तेलको प्रयोग गरेको पाइएकोले तत्काल नष्ट गरि कारवाहीका लागि सचेत गराइएको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख एवं अनुगमन समितीको संयोजक उमा अधिकारीले बताउनु भएको छ । टोलीले विभिन्न मिष्ठान पसलहरुमा पाइएको अखाद्य ४० लिटर तेल समेत नष्ट गरेको छ ।

तेलमा एक पटक कुनै सामाग्री तारेपछि पटक पटक सोही तेलमा अन्य साम्रगी तारेमा उक्त तेल खाने योग्य हुदैन र उक्त पसलहरुले सोही किसिमका कार्य गरेको अनुगमनमा पाइएको थियो ।

त्यस्तै माखन भोग स्विट्समा म्याद गुज्रिएको ५० ग्रामको ८ प्याकेट कसुरी मेथी मसला र २१ प्याकेट चाट मसला बरामद भएपछि जफत गरी नष्ट गरिएको संयोजक अधिकारीले बताउनु भएको छ ।

‘मिष्ठान पसलहरुमा प्रयोग गरिएको खाने तेलको नमुना परिक्षण गर्दा धेरै पटक प्रयोग गरिएको पाइएकोले उक्त तेल खान योग्य नभएको खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरिक्षक मनोज अधिकारीले बताउनु भएको भयो ‘त्यसैले बरामद तेल हामीले तत्काल नष्ट गरेका हौँ ।’ उहाले भन्नू भयो ।

उहाका अनुसार प्रयोग भएको तेलमा कुल पोलार म्याटरियल २५ प्रतिशत नबढेको हुनुपर्नेमा त्यो भन्दा बढी पाइएकोले तेल खान योग्य नरहेकोले नष्ट गरिएको हो ।

त्यस्तै अनुगमनको क्रममा मिष्ठान पसलहरुको भान्सा सरसफाई नराखिएको, साम्रगीहरु खुल्ला राखिएको, तेलमा पटक पटक विभिन्न साम्रगी तारिएको लगायत पाइएकोले पहिलो पटकको लागि सचेत गराइएको र पुनः पाइएमा थप कारवाही प्रक्रिया अगाडी बढाइने संयोजक अधिकारीले बताउनु भएको छ ।

नगरपालिकाको उपप्रमुख एवं अनुगमन समितीको संयोजक उमा अधिकारीको संयोजत्कवमा भएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सिद्धार्थ उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, नगरपालिकाको राजश्व शाखाको प्रतिनिधी लगायत पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-१०-०८ , समय : २३:१२:५३ , १ वर्ष अगाडि