पक्लिहवा मा.वि.मा निःशुल्क स्कुल ड्रेस वितरण

रुपन्देही खबर , ३४८  पटक हेरिएको

भैरहवा, असोज १८

श्री पक्लिहवा माध्यमिक विद्यालय सिद्धार्थनगर १ पक्लिहवामा ‘निःशुल्क स्कुल ड्रेस वितरण गरिएको छ ।पक्लिहवा मा.वि. व्यवस्थापन समितिका अध्यक्ष तथा युवा समाजसेवी सुशील गुरुङ्गको अध्यक्षता तथा समाजसेवी युवा व्यवसायी श्रृजना बनियाँको प्रमुख आतिथ्यतामा निःशुल्क स्कुल ड्रेस वितरण गरिएको हो । कार्यक्रममा अतिथी बनियाँले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा अध्ययन गर्ने बालविकाश देखि कक्षा ८ सम्मका विपन्न तथा जेहेन्दार ५१ जना विद्यार्थीहरुलाई करिब चालिस हजार बराबरको सर्ट र पाइन्ट गरि एक–एक सेट स्कुल ड्रेस (विद्यालय पोशाक) वितरण गरिएको हो ।

कार्यक्रममा समाजसेवी बनियाँले आफ्नो जन्मदिनको अवसरमा केही भएपनि शुभ कार्य गर्न पाउँदा आफुलाई आनन्द, हर्षित तुल्याएको र भोलिका दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता गर्नु भएको छ ।

व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङ्गले जन्मदिनको पार्टी महंगो होटल–रेष्ट्ररेन्टमा फजुल खर्च गरेर मनाउने परम्परालाई त्याग्दै हाम्रो समाज यस्तै प्रकारले विपन्न तथा असहायको सहयोगमा खर्च गर्दा समग्र समाजलाई सुमार्गमा डोराउन टेवा पुग्ने बताउनु भएको छ ।

विद्यालयका प्रधानाध्यापक बसन्तकुमार बस्नेतको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन शिक्षक देवि प्रसाद न्यौपानेले गर्नु भएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सल्लाहाकार याम बहादुर थापा, सदस्य सलुजा विश्वसेन्चुरी, शिक्षक–शिक्षिका, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-१०-०५ , समय : १९:२५:२८ , १ वर्ष अगाडि