जातीय छुवाछुत उन्मुलन दिवसका आज देशभर सचेतनामुलक कार्यक्रम गरी मनाइयो

रुपन्देही खबर , ६२१  पटक हेरिएको

बुटवल , जेठ २१

जातीय छुवाछुत उन्मुलन दिवसका अवसरमा आज देशभर सचेतनामुलक कार्यक्रम गरी मनाईएको छ । विं.सं.२०६३ साल जेठ २१ गते तत्कालीन संसदले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिन नेपालमा विं.सं. २०६८ साल जेठ २१ गतेदेखि जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाउँदै आएको छ । नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको एक ऐतिहासीक दिनको रुपमा स्मरण गर्दै सैनामैना दलित उत्थान समितिले पनि पर्रोहा स्वास्थ्य चौकीमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

 

सोही कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजीत थारुले जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा व्यवहारमा विभेद हट्न नसकेको बताउनु भएको छ । दलित उत्थानको लागि एउटा महान जनयुद्ध लडेर निकै ठुलो बलिदानी पश्चात् समावेशीतामा आए पनि सामन्तवादी संस्कृतिले अहिले पनि समाजमा जरो गाडेको कारण अझै पनि धेरै चुनौती रहेको बताउनु भयो ।

 

मन्त्री थारुले हरेक नेपालीलाई जातीय छुवाछुत र भेदभाव विरुद्ध संविधानमा समेटिएका बिषयहरुलाई टेकेर दृढतापूर्वक उभिन समेत आहृवान गर्नु भएको छ । दलितको हक अन्तर्गत दलित समुदायको सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताका लागि विशेष व्यवस्थाको प्रत्याभूति संविधानले गरेको भन्दै संविधान कार्यान्वयन हुने क्रममा भएको स्थानीय तहको निर्वाचनबाट दलित समुदायको प्रतिनिधित्व पनि रहेको हुदाँ जातिय विभेद अन्त्यको लागि जनप्रतिनिधिको अग्रणी भुमिका रहेको बताउनु भयो । सामन्तवादको अवशेषका रुपमा रहेको मानव–मानव बीच गरिने जातीय भेदभाव र छुवाछुत प्रतिको अन्त्यका लागि र “समानता, सद्भाव र सबैको मानव अधिकारको पूर्ण रक्षाका लागि लुम्बिनी प्रदेश सरकार दृढ रहेको बताउनु भएको छ । नेपालको संविधानको प्रस्तावनामै सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समतामूलक समाज निर्माण गर्ने सङ्कल्प गरिएको समेत बताउनु भयो ।

 

लुम्बिनी प्रदेश सभा सदस्य कमलादेवी विश्वकर्माले संविधानले जातीय विभेद गर्न नपाईने भनियता पनि व्यवहारमा प्रयोग हुन नसक्दा दलित समुदाय खुलेर समाजमा हिड्ने वातावरण नभएको बताउनु भएको छ। उहाले लुम्बिनी प्रदेशमा दलित सशक्तीकरण ऐन बनाउन ड्राफ तयार भैरहेकाले समतामुलक समाज निर्माणका लागि सबैसंग हातेमालो गरी अगाडि बढ्नु पर्ने भएकाले दलित समुदायको चौतर्फी विकासको लागि सिर्जनात्मक र रचनात्मक कार्यक्रमले थप उर्जा मिल्ने बताउनु भयो ।

 

कार्यक्रममा सैनामैना दलित उत्थान समितिका अध्यक्ष अम्बिका परियारले जातिय आधारमा विभेद रहेकाले त्यो मानसिकता हटाउन हामी निरन्तर पहल गर्ने बताउँदै श्रम चल्छ पसिना चल्छ रगत चल्छ तर जात चल्दैन यस्तो सामन्तवाद प्रवृत्तिको अन्त्यको लागि पनि रक्तदान गरिएको बताउनु भएको छ ।

 

मान्छेले मान्छे माथि भेदभाव गरिरहेको बेला निती नियमको लागि लड्नु हुने सरोकारवाला पक्ष र नवनिर्वाचित जनप्रतिनिधिहरुले सदनमा आवाज उठाउनु पर्छ सडकमा हामी छौ । उहाले भन्नु भयो “ नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिदै आवाज बिहीनहरुको आवाज बनेर अगाडि बढ्नु भएको छ, दलित नागरिक तथा महिला मैत्री बजेट ल्याउनु भयो भने समग्र समृद्ध समाज निर्माणमा सहयोग पुग्ने भन्दै पार्टी भन्दा माथि रहेर समुदायको हक अधिकारका लागि काम गर्नु पर्ने अध्यक्ष परियारले बताउनु भयो ।

उक्त कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई शुभकामना संगै जनप्रतिनिधिहरुलाई खबरदारी गर्दै लक्षित वर्गहरुको लागि आएको बजेट सही क्षेत्रमा सदुपयोग गरी जनता माझ कति लाभदायी र उपलब्धि मुलक भयो भन्ने बिषयमा गम्भीर ध्यानाकर्षण गराउन सहभागी वक्ताहरुले आग्रह गरेका थिए । कार्यक्रममा सैनामैनाबाट निर्वाचित सबै जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।

 

एक सय जनाको उपस्थिति भएको कार्यक्रममा ३० युनिट रगत समेत संकलन भएको कार्यक्रम संयोजक सीता गौतमले जानकारी दिनु भयो । कार्यक्रम संस्थाको उपाध्यक्ष जयलाल बिकको स्वागत मन्तव्य तथा सचिव समुन्द्र नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

 

प्रकाशित मिति: २०२२-०६-०४ , समय : १८:१७:४६ , २ वर्ष अगाडि