टी-२० सिरिजमा नेपालको लगातार दोस्रो जित

रुपन्देही खबर , २७०  पटक हेरिएको

काठमाडौं,भदौ ६

चार देशबीचको टी-२० सिरिजमा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ। बुधबार मलेसियाको बायुमास ओभलमा भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले हरायो। यसअघि मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो। बुधबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ८९ रन जोड्यो।

नेपालका लागि विन्दू रावलले २० रन र इन्दू बर्माले २३ रन बनाए। काजल श्रेष्ठले नटआउट १९ रनको योगदान दिइन्। बलिङमा कुवेतकी मरियमना हैदरले ४ विकेट लिइन्। ९० रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ८ विकेट गुमाएर ५५ रन मात्र जोड्न सक्यो। कुवेतकी जीफी जिलानीले ११ रन र खाजिदा खलिलले १० रन जोड्दा अन्य ब्याटर दोहोरो अंकमा रन नजोड्दै आउट भए।

बलिङमा नेपालकी इन्दू बर्माले ३ विकेट लिइन् भने खुसी डंगोलले २ विकेट हात पारिन्। सिरिजमा अब नेपालले शुक्रबार आयोजक मलेसियासँग खेल्नेछ। त्यसपछि नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया छनोट खेल्नेछ।

मलेसियामा हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन्। प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा अगस्ट ३१ मा आयोजक मलेसियासँग खेल्नेछ।

समूह ‘बी’ मा ५ टिम छन्। प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्नेछन्। विश्वकप छनोटमा १० टिम सहभागी हुँदा २ टिमले सन् २०२४ मा बंगलादेशमा हुने महिला टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन्।

प्रकाशित मिति: २०२३-०८-२३ , समय : १६:५९:४७ , १ वर्ष अगाडि