धादिङको गजुरी २ मा भएको यात्रुबाहक बस दुर्घटनामा ८ जनाको मृत्यु

चार जनाको सनाखत

रुपन्देही खबर , ३७२  पटक हेरिएको

काठमाडौं, भदौ ६

धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ मा भएको यात्रुबाहक बस दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । ज्यान गुमाउने ८ मध्ये चार जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार सनाखत भएका चार जनामा जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिका ३ का ५० वर्षीय थान बहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका १ का १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका ८ का अन्दाजी २५ वर्षका सविन रम्तेल र कास्की फुलबारीका अन्दाजी २४ वर्षका सुमन थापा छन ।

बाँकी चार जनाको पनि परिचय खुलाउने प्रयास भइरहेको एसपी मिश्रले जानकारी दिनु भएको छ । आज बिहान काठमाडौंबाट पोखरा हुँदै बेनी जान लागेको प्रदेश ३ ०१ ००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी गाउँपालिका२ चालिसेमा दुर्घटना भई त्रिशूली नदीमा खसेको थियो।दुर्घटनामा १५ जना घाइते भएका छन तीमध्ये १४ जनालाई काठमाडौं रिफर गरिएको छ। उनीहरूमध्ये पाँच जनाको अवस्था गम्भीर छ। गम्भीर घाइतेहरूमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ की २२ वर्षीया अञ्जु राना मगर, म्याग्दीको रघुगंगा गाउँपालिका ७ का २९ वर्षीय प्रविन पुन र परिचय नखुलेका थप तीन जना छन ।

काठमाडौं रिफर गरिएका घाइतेहरूमा पर्वतको मोदी गाउँपालिका १ का ४१ वर्षीय गुरूदत्त पौडेल, बसका चालक म्याग्दीको बेनी नगरपालिका ६ का ३० वर्षीय दिपक थापा, वेनी नगरपालिका ३ का २४ वर्षीय पूर्ण छन्त्याल, अन्नपूर्ण गाउँपालिका १ का १९ वर्षीय कुशल अधिकारी, काठमाडौंको कीर्तिपुर नगरपालिका ९ का ५२ वर्षीय खड्ककुमार श्रेष्ठ, म्याग्दीको मंगला गाउँपालिका २ का १६ वर्षीया गीता जग्जाली छन्। ।

त्यस्तै, बाग्लुङकी १९ वर्षीया सुष्मा क्षेत्री, पर्वतको फलेवास नगरपालिकाकी ६३ वर्षीया हरिकला गौडेल, ३२ वर्षीय बंगलादेशी नागरिक मोहमद हजिरहुल र म्याग्दीको रघुगंगा गाउँपालिका ६ की २३ वर्षीया रिना रानामगरलाई पनि काठमाडौं पठाइएको एसपी मिश्रले जानकारी दिनु भएको छ ।

उनीहरूको अवस्था मध्यम रहेको छ । दुर्घटनामा बागलुङ गलकोटकी ६८ वर्षिया ज्ञानु बुढामगर सामान्य घाइते भएकोमा उपचारपछि डिस्चार्ज भइसकेका छन । बसका सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका ६ का ३४ वर्षीय रोशन तामाङको सकुशल उद्धार गरी प्रहरी नियन्त्रणमा लिइएको छ। उनलाई अहिले इलाका प्रहरी कार्यालय गजुरीमा राखी दुर्घटनाबारे सोधपुछ भइरहेको छ।

साँघुरो सडकमा ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान छ। यसबारे अनुसन्धान भइरहेको एसपी मिश्रले जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२३-०८-२३ , समय : १६:४९:१५ , १ वर्ष अगाडि