हिन्दु लगायत अन्य धर्मावलम्बीका लागि धार्मिक यात्रा कमिटी गठन गर्न माग

रुपन्देही खबर , २७३  पटक हेरिएको

भैरहवा, साउन ३२

हिन्दू धर्मावलम्बीसहित अन्य धर्मावलम्बीका लागि ‘धार्मिक यात्रा कमिटी’ गठन गर्न माग गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरिएको हो ।भैरहवाका युवा रवि कुमार रौनियारको नेतृत्वमा ज्ञापनपत्र बुझाउन बिहीबार प्रशासन कार्यालय पुगेको टोलीले धार्मिक यात्रा कमिटी गठन तथा बजेट व्यवस्थापन गर्न माग गरेको हो । नेपालका गौरवशाली नेपाली नागरिक निवेदक उल्लेख गरिएको ज्ञापनपत्रमा भनिएको छ, ‘नेपालको बहुसंख्यक हिन्दू नागरिकहरु तथा अन्य अल्पसंख्यक समुदायका लागि यसप्रकारको कुनै धार्मिक यात्राको सुविधा नेपाल सरकारले नगरेकोमा हामीलाई दुःख महसुस भएको छ ।’

नेपालका बहुसंख्यक हिन्दू तथा अन्य अल्पसंख्यक नागरिकहरुका लागि पनि आफ्नो जीवनकालमा कम्तीमा एकपटक गरिने धार्मिक यात्राको लागि विशेष आयोग गठन गर्न एवं उपयुक्त बजेट व्यवस्थापन गर्नुपर्ने रवि कुमार रौनियारले बताउनु भएको छ ।

नेपाल सरकारले मुस्लिम समुदायका लागि धार्मिक यात्रा गर्न गराउन विशेष आयोग तथा कमिटी गठन गरेको र जसको माध्यमले मुस्लिम समुदाय नेपाल सरकारको अनुदानमा कम खर्चमा ‘पवित्र हज यात्रा’ सजिलै गर्न सकिरहेको र जसलाई सबै नेपालीले नेपाल सरकारको एउटा राम्रो कदमको रुपमा लिएको रौनियारले बताउनु भयो । तर, नेपालको संविधान २०७२ ले नेपालका सम्पूर्ण नागरिकलाई समान नजरले हेरिनेछ भन्ने व्याख्यालाई सरकारले अनुसरण गर्न नसकेको रौनियारको भनाइ छ ।

‘संविधान जारी भएको करिब ८ बर्ष बितिसक्दा समेत यसको कार्यान्वयन हुन नसकेको हामी हिन्दू समुदायसहित अन्य अल्पसंख्यक समुदायले महसुस गरिरहेका छौं, ’उहाले भन्नु भयो । नेपालमा करिब ८४ प्रतिशत हिन्दू धर्मावलम्बी रहेकोले हिन्दू धर्मावलम्बीका साथै अन्य धर्मावलम्बीहरुको लागि ‘धार्मिक यात्रा कमिटी’ गठन गर्नुपर्ने आफूहरुको माग रहेको रौनियारले बताउनु भएको छ ।

‘नेपालको संविधान २०७२ जारी भएपछि नेपाल राज्यलाई नेपालको संविधान २०७२ को धारा ४९१० ले नेपाल राज्यलाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतान्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रामक राज्यको रुपमा व्याख्या गरेको छ जहाँ विशेष रुपले ‘धर्मनिरपेक्ष’ भन्ने शब्दलाई सनातनदेखि चलीआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक साँस्कृतिक स्वतन्त्रता भनेर सम्झनुपर्छ भनेर उल्लेख गरिएको छ, ’ज्ञापनपत्रमा भनिएको छ । ज्ञापनपत्र बुझ्दै रुपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर कुँवरले ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पठाउने जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२३-०८-१७ , समय : १३:५४:५८ , १ वर्ष अगाडि