रुपन्देही खबर , २९७ पटक हेरिएको
नवलपरासी, साउन २९
अधिकांश जनप्रतिनिधिहरु आफु अनुकुलका समाचार नआउदा संचारकर्मीहरु संग रुष्ट देखिन्छन् । पछिल्लो समय जनप्रतिनिधिहरुले स्वच्छ आलोचना समेत पचाउँदैनन् । आफु अनुकुलका समाचार नआए संचारकर्मीहरुलाई चर्को आलोचना गर्दै बहस गर्ने प्रचलन बढ्दै गएको छ । तर पश्चिम नवलपरासीका एक वडा अध्यक्षले भने वडा कार्यालयबाट भएको त्रुटीलाई संचारमाध्यम मार्फत उजागर गरिदिएको भन्दै संचारकर्मीलाई धन्यबाद ब्यक्त गर्न प्रेस विज्ञप्ती नै जारी गरेका छन् ।
बर्दघाट नगरपालिकाले साउन ७ गते देखी पुर्व निर्मित घर तथा भवनको अभिलेखिकरणका लागि वडा मार्फत निवेदन संकलन गर्दा वडा नम्बर ९ ले कानुन विपरित सेवाग्राहीबाट रकम लिएको विषय आईतबार विभिन्न संचारमाध्यमबाट सार्बजनिक भएको थियो ।
संचारमाध्यममा समाचार आए संगै वडाले बैठक बसेर कानुन विपरित लिएको रकम फिर्ताका लागि प्रकृया अगाडि बढाएको छ । वडा अध्यक्ष चन्द्रकान्त चापागाईले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै वडा कार्यालयबाट भएको त्रुटीलाई संचारको माध्यमबाट औंल्याईदिएर सजग बनाएको भन्दै संचारकर्मीहरुलाई धन्यबाद दिएका दिनुभएको हो ।
चापागाईद्धारा जारी विज्ञप्तीमा भुलबस त्रुटी भएकोमा संचार माध्यममा समाचार आए संगै तत्काल त्रुटी सच्याएर रकम फिर्ताका लागि प्रकृया अगाडि बढाएको उल्लेख छ । “वडा कार्यालयबाट भएको त्रुटीलाई औल्याई बिभिन्न संचार माध्यमबाट प्रकाशन÷प्रशारण भएको समाचारले हामीलाई थप पृष्ठपोषण प्राप्त भएको महसुस गरेका छौं। आगामी दिनमा पनि यस कार्यालयबाट प्रदान हुने सेवा प्रबाहका विबषयमा कहि–कतै त्रुटी भए निर्वाध रुपमा सचेत गराउन सम्पूर्ण संचारकर्मीलाई आग्रह गर्दै हामीलाई सचेत गराई त्रुटी सच्याउने अवसर दिनुभएकोमा सम्पूर्ण संचारकर्मी र संचार माध्यमलाई हार्दिक धन्यबाद ब्यक्त गर्दछौं । ” विज्ञप्तीमा उल्लेख छ ।
समाचारको विषयलाई लिएर संचारकर्मीलाई धन्यबाद दिइ प्रेस विज्ञप्ती जारी भएपछि पत्रकार महासंघ नवलपरासी पश्चिमले खुसी ब्यक्त गरेको छ । महासंघ अध्यक्ष हरि शर्माले जनप्रतिनिधिहरुले आलोचना नसहिरहेको अबस्थामा वडाले भुल सुधार गरी समाचार आएको विषयलाई लिएर पत्रकारहरुलाई धन्यबाद दिनु आफैमा सकारात्मक विषय भएको बताउनुभयो । “स्थानिय तहरुमा भैरहेका बेथितिको बारेमा समाचार प्रकाशन हुँदा जनप्रतिनिधिले आफु अनुकुलको सामाचार खोजिरहने र अनुकुलको समाचार नआए पत्रकारहरुलाई अनेक आरोप तथा लान्छना लगाउने प्रबृत्ति बढेका बेला वडा कार्यालयबाट भएको कमजोरीलाई सच्याई संचारकर्मीलाई धन्यबाद ब्यक्त गर्नु आफैमा शुशासनको उच्चतम नमुना हो ।” शर्माको भनाई छ ।
बर्दघाट प्रेस क्लवका अध्यक्ष कुस्माकर ढकाल (कृष्ण) ले गल्ति कमि कमजोरीलाई सच्याएर अघि बढ्नु नै लोकतन्त्रको सुन्दर पक्ष हो । ढकाल भन्नुहुन्छ “जनप्रतिनिधिहरुले पत्रकारहरुले समाचार मार्फत औल्याएका कमिकमजोरीहरुको महसुस गरी सच्चिएर अघि बढ्ने प्रतिबद्धता गर्नु नै जनता प्रति जवाफदेही हुनु हो । जुन आफैमा महत्वपुर्ण कुरा हो ।”
प्रकाशित मिति: २०२३-०८-१४ , समय : २०:१४:५६ , १ वर्ष अगाडि