नेपाली कांग्रेसकोे आन्तरिक विशेष अभियान सुरु, पार्टीका कार्यकर्ताहरुलाई विचलित नहुन आग्रह

रुपन्देही खबर , ३६५  पटक हेरिएको

भैरहवा, साउन २९

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३ रुपन्देहीले ‘आन्तरिक विशेष अभियान’ सुरु गरेको छ । आइतबार भैरहवामा आयोजना गरेको आन्तरिक विशेष अभियानमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उपसभामुख पुष्पा भुसालले नेपाली कांग्रेस सिद्धान्त, नीति र इतिहास बोकेको, विभिन्न आन्दोलनहरुको नेतृत्व गरेको पार्टी भएकोले पार्टीका कार्यकर्ताहरुलाई विचलित नहुन आग्रह गर्नु भएको छ ।


पूर्व उपसभामुख भुसालले वर्तमान समयमा नयाँनयाँ पार्टीहरु जन्मिने क्रममा रहे पनि सिद्वान्त र नीति बिनाको पार्टीहरुको भविष्य नरहेको दावी गर्नु भयो । उहाले ‘नेपाली कांग्रेसको यो १० दिने आन्तरिक विशेष अभियानले अब पार्टीभित्र रहेको मतभिन्नता, असहमति, द्वन्द्व र संगठनभित्र रहेको कमी कमजोरीहरुलाई निराकरण गर्दै तल्लो तहसम्म पार्टीलाई बलियो बनाउने बिश्वास ब्यक्त गर्नु भएको छ ।

उहाले २०८४ सालको निर्वाचनका लागि तयार रहनुपर्नेमा जोड दिनु भएको छ । पार्टीले यसपटक बैठकलाई प्रत्यक्ष प्रशारण तथा सदस्यता वितरण प्रक्रियालाई समेत अनलाइन प्रविधिमा लगेकोले अब समय सुहाउँदो पार्टीलाई डिजिटलाइजेसन प्रक्रियामा अघि बढेको बताउनु भयो । मुलुकमा मिश्रित निर्वाचन प्रणाली भएकोले पनि अब महिलाहरु प्रत्येक तहमा नेतृत्व लिन तयार र सक्षम बन्नुपर्ने भुसालका भनाई छ ।

कार्यक्रममा नेपाली कांग्रेस प्रदेश ३ क का सभापति सुरेन्द्र जंग थापाको स्वागत मन्तब्य रहेको कार्यक्रममा नेपाली कांग्रेसका रुपन्देही जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, प्रदेश प्रतिनिधि त्रिलोक्य प्रताप सेन, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, प्रदेश प्रतिनिधि भिम बहादुर थापा भरत, जिल्ला प्रतिनिधि तथा जिल्ला सचिव हरि प्रसाद काफ्ले, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाई, संविधानसभा सदस्य जैनुतिन निशा धुनिया, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, लुम्बिनी प्रदेशसभाका पूर्व सदस्य तथा नेपाल महिला संघका केन्द्रिय सदस्य रमा अर्याल, कांग्रेस प्रदेश ३ ख का सभापति घनश्याम चालिसे, कांग्रेस शुद्धोधन गाउँपालिकाका सभापति दामोदर पौडेल, पार्टीका सिद्धार्थनगर पालिका वडा नम्बर ११ का सभापति केदार प्रसाद कुर्मी लगायतले पार्टीलाई आगामी दिनमा कसरी बलियो बनाउने र आगामी कार्यदिशाका बारेमा आफना भनाइ राखेका थिए ।

नेपाली कांग्रेसका क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुंगको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उपसभामुख पुष्पा भुसालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो भने क्षेत्रीय सचिव लेखनाथ भट्टराईले कार्यक्रम संचालन गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-०८-१४ , समय : ०९:०३:१३ , १ वर्ष अगाडि