रुपन्देही खबर , २१० पटक हेरिएको
काठमाडौं, साउन १४
कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रयासमा आज सत्ता गठबन्धनका नेताहरुको बैठक काठमाडौंमा बस्दै छ । बैठकमा कोशी प्रदेशका संसदीय दलका नेताहरुलाई पनि बोलाइएको छ ।शनिबार पनि प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गर्नु भएको थियो । आज बिहान नौ बजे पुनः कोशी प्रदेशका नेताहरुसँग छलफल हुन लागेको हो । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले छलफलका लागि नेताहरुले काठमाडौंमा बोलाएकाले आएको बताउनु भएको छ ।
दलहरुमा तीन विकल्पमा छलफल
सत्ता गठबन्धनका नेताहरुले सकेसम्म गठबन्धन दलबाटै सरकार गठनको प्रयास जारी राखेका छन् । तर सत्ता गठबन्धन र एमाले दुवै पक्षसँग बहुमत ४७ प्रदेश सभा सदस्यको समर्थन पुगेको छैन । यस्तो अवस्थामा सत्ता गठबन्धनबीच तीन विकल्पमा छलफल भइरहेको छ । पहिलो विकल्प संसदको ठूलो दलको हैसियतमा नयाँ सरकार बनाउने हो । कोशीमा नेकपा एमाले सबैभन्दा ठूलो दल भएकाले उसको नेतृत्वमा सरकार गठन हुन नदिन कांग्रेस(माओवादीसहितको सत्ता गठबन्धन प्रयासरत छन ।
दोस्रो विकल्पको रुपमा उनीहरुले सरकार गठनमा निर्णायक देखिएको राप्रपाको साथ खोजेका छन । तर राप्रपाले वचन दिएको छैन । राप्रपाका कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले विभिन्न दलहरुसँग छलफल भइरहेको तर अन्तिम टुंगोमा नपुगेको बताउनु भएको छ ।
राप्रपा सत्ता गठबन्धनमा आउन सहमत नभए सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत र्पुयाउने सत्ता गठबन्धनका नेताहरुको तयारी छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गत शुक्रबार मात्र सभामुख गौतमले राजीनामा दिनु उपयुक्त हुने बताउनु भएको थियो ।
नेकपा एमालेका नेता हिक्मत कुमार कार्कीले विश्वासको मत जुटाउन नसकेपछि सभामुख बाबुराम गौतमको समेत समर्थनमा नेपाली कांग्रेसका नेता उद्धव थापा गत असार २१ गते मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । तर गत बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले थापाको नियुक्ति बदर गरिदिएको थियो । सर्वोच्चले संविधानको धारा १६८ ९२० बमोजिम सात दिनभित्र नयाँ सरकार गठन गर्न परमादेश दिएकाले दलहरु त्यसको आन्तरिक तयारीमा छन ।
प्रकाशित मिति: २०२३-०७-३० , समय : ०८:५३:३६ , १ वर्ष अगाडि