थारू समुदायमा मात्र देखा पर्ने सिकलसेल, एनिमिया र थालासेमिया रोग सम्बन्धी अभिमुखिकरण

कल्पना खरेल , २७१  पटक हेरिएको

नवलपरासी, साउन १

थारू समुदायमा मात्र देखा पर्ने अनौठो प्रकारको सिकलसेल एनिमिया र थालासेमिया रोग पश्चिम नवलपरासी लगायतका तराईका जिल्लामा बढि देखिएको छ । आइतबार जिल्लाका पत्रकार संग स्वास्थ्य कार्यालय नवलपरासीले गरेको अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रमलाई सहजिकरण गर्दै वरिष्ठ मलेरिया इनिष्पेक्टर देविलाल पौडेलले यस्तो बताउनुभएको हो । उहाँले सिकलसेल रोग भनेको के हो ? यो कस्तो खालको रोग हो ? सिकलसेल तथा थालासेमियाको हालको अवस्था कस्तो छ ? यो रोग व्यवस्थापनका लागि स्थानीय तहको भूमिका कस्तो हुनुपर्छ ? यो रोग नियन्त्रण र रोकथामका उपायहरू के के हुन ? यो सम्बन्धि भएका राम्रा कार्य र आगामी योजनाका विषयमा जानकारी गराउनुभएको थियो।

मानव रगतमा पाइने रातो गोलाकार रक्तकणिकाको स्वरूप परिवर्तन भई हँसिया जस्तै आकारमा रूपान्तरण हुने रक्तअल्पता सम्बन्धि रोगलाई सिकलसेन रोग भनिन्छ । जसको कारण शरिरका विभिन्न भागहरूमा रगत सजिलोसँग बग्न सक्दैन र शरिरको भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई डल्लाहरू गाठाहरू देखिने,अनुहारमा अस्वभाविक परिवर्तन हुने, कडा खालको दुखाइ हुने, थकाइ लाग्ने, श्वासप्रश्वासमा समस्या हुने,छाती दुख्ने,आखाँमा समस्या देखिने,पक्षघात समेत हुने, ज्वरो आउने लगायतका लक्षणहरू देखा पर्दछ । यो रोग बुवाआमाबाट बच्चालाई सर्ने एक वंशानुगत रोग हो । जुन जिनको खराबीको कारण महिला पुरूषलाई बराबर लाग्ने गर्छ । सामान्यतया रातो रक्तकोषको आयु १२० दिनसम्म हुन्छ तर सिकलसेल भएका रक्तकोषको आयु १० देखि २० दिनसम्म हुने हुदाँ बिरामीमा रक्तअल्पता हुन्छ ।
पश्चिम नवलपरासीका विभिन्न पालिकामा ११ वर्षदेखि २० बर्ष उमेर समुहलाई सिकलसेल तथा थालासेमियाको अवस्था पहिचानको लागि सुनवल , रामग्राम, वर्दघाट नगरपालिका र सुस्ता , सरावल र प्रतापुर गाउँपालिकामा गरिएको परिक्षणमा यो रोग पाइएकोले सचेत हुन र सचेत गराउन पत्रकारलाई आग्रह गरिएको थियो ।

यो चेकजाचको लागि विशेष प्रविधि र तालिमप्राप्त चिकित्सक आवश्यक हुने हुदा रक्तअल्पताका विरामीमा अस्वभाविक दुखाई र अस्वभाविक परिवर्तन भएमा तुरून्त चेकजाँच गर्नुपर्ने हुन्छ । सरकारले तोकेको ल्याब र अस्पतालमा मात्र जाँच हुने हुदा करिब १ वर्षदेखि पृथ्वी चन्द्र अस्पताल परासीमा यो रोगको निशुल्क परिक्षणको व्यवस्था गरिएको छ । विश्वमा करिब ५ प्रतिशत जनसंख्यामा हेमोग्लोबिन सम्बन्धि रोग भएको अनुमान गरिएको छ । वार्षिक करिब ३ लाख देखि ५ लाख बच्चाहरू हेमोग्लोबिन सम्बन्धि रोगबाट संक्रमित भई जन्मने गर्छन । जसमध्ये थालासेमिया र सिकलसेल बढि देखा पर्दछ । सैयौ बर्ष पहिले तराईमा बसोबास गर्ने थारू समुदायमा औंलोको प्रकोप बढि थियो जसका कारण सयौको संख्यामा ज्यान गुमाए , विस्तारै यो रोग परिवर्तन भई सिकलसेल एनिमिया र थालासेमिया रोगको उत्पत्ति भएको अनुमान गरिएको छ

प्रकाशित मिति: २०२३-०७-१७ , समय : ०८:२८:५२ , १ वर्ष अगाडि