पामिरले गर्यो एसईईमा सफल विद्यार्थी र अभिभावकलाई सम्मान

रुपन्देही खबर , २३७  पटक हेरिएको

बुटवल, असार ३०

पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ जानकीनगरले २०७९ सालको एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ । एसईई परीक्षामा ३.८ जिपिए ल्याउन सफल रिया थापा लगायत २८ जना विद्यार्थी, तिनका अभिभावक तथा शिक्षक शिक्षिकाहरुलाई पामिरले सम्मान गरेको हो । विद्यार्थीहरुलाई सम्मान गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन चापागाईंले विद्यार्थीहरुलाई आगामी शैक्षिक यात्राको सफलताको शुभकामना दिंदै पामिरले हरेक वर्ष ल्याएको नतीजा हासिल गर्दै आएको बताउनु भएको छ । पामिरले शिक्षण सिकाईसँगसँगै व्यवहारिक सिकाईलाई पनि जोड दिंदै आएको उहाले बताउनु भयो । उहाले विद्यार्थी केन्द्रित सिकाई विधिबाट पठनपाठनलाई जोड दिंदै आएको, प्रविधितर्फ विद्यार्थीलाई केन्द्रित गरेको, अतिरिक्त क्रियाकलापमा जोड दिएको र गुणस्तर सुधारमा विद्यालयले उल्लेख्य प्रगति हासिल गरेको बताउनु भएको छ ।

विद्यालयका प्राचार्य गोपाल गौतमले जिपिए फोर मात्रै ठूलो कुरा नभएको भन्दै विद्यालयमा विद्यार्थीले कस्तो ज्ञान र शिक्षा हासिल गर्छन् भन्ने कुरा महत्वपूर्ण रहेको बताउनु भएको छ । उहाले विद्यार्थीहरुको आगामी शैक्षिक यात्राको शुभकामना समेत दिनु भएको छ । त्यस अवसरमा विद्यालय व्यवस्थापन समिति सदस्यहरु वसन्त जोशी, संगीता गौतम, विद्यालयका परीक्षा संयोजक नविन शाक्य लगायतले पनि बोल्नुभएको थियो ।

प्रकाशित मिति: २०२३-०७-१५ , समय : १९:०५:३४ , १ वर्ष अगाडि