रुपन्देही खबर , २३४ पटक हेरिएको
दाङ, असार २१
लुम्बिनी प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ। प्रदेश सभाको दोस्रो अधिवेशनको १८ औँ बैठकले असार १ गते प्रस्तुत गरिएको बजेट बहुमतले पारित गरेको हो।
प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित गरेको सभामुख तुलाराम घर्तीले घोषण गर्नु भएको छ । सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि ४० अर्ब ४७ करोड ८९ लाख ९७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको हो।
सरकारले ल्याएको बजेटमा असहमति जनाउँदै प्रमुख प्रतिपक्ष दल एमालेले विरोध गर्दै आएको थियो। जसका कारण चार पटकसम्म सदन अवरुद्ध हुन पुगेको थियो।
मंगलबार बेलुका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग भएको वार्तापछि संसद बैठक सुचारु भएको थियो। आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव ध्वनी मतको आधारमा बहुमतले पारित भएको घोषणा सभामुख घर्तीले गर्नु भएको छ।
सरकारले असार १ मा ल्याएको बजेट चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार छ। त्यस्तै, वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड ९७ लाख छ। जुन चालुतर्फ ३३.६८ प्रतिशत, पुँजिगततर्फ ५७.४५ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ८.८७ प्रतिशत रहेको छ।
आगामी वर्ष आन्तरिक राजश्वबाट ६ अर्ब ७३ करोड ५१ लाख, संघबाट प्राप्त हुने राजश्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख, संघबाट प्राप्त हुने रोयल्टी २९ करोड, स्थानीय तहबाट बाँडफाँट भइ प्राप्त हुने राजश्व २ अर्ब ५० करोड ३० लाख रुपैयाँ हुने अनुमान गरिएको छ।
त्यस्तै, संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब १४ करोड ८३ लाख, ससर्त अनुदानबाट ५ अर्ब ८३ करोड ५९ लाख, समपूरक अनुदानबाट ८४ करोड, विशेष अनुदानबाट ५६ करोड, चालु आर्थिक वर्षको नगद मौज्दातबाट ३ अर्ब र आन्तरिक ऋणबाट १ अर्ब २५ करोड परिचालन हुने अनुमान रहेको छ।
चालु आर्थिक बर्ष २०७९/८० मा ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट आएको थियो। तर, यो पटक २ अर्ब १५ करोड कम बजेट आएको हो
प्रकाशित मिति: २०२३-०७-०६ , समय : १२:०९:१९ , १ वर्ष अगाडि