उर्मिला यादव यात्री , ५१९ पटक हेरिएको
भैरहवा, असार ७
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ को बार्षिक नीति तथा कार्यक्रम एवम बजेट तर्जुमा सम्बन्धमा छलफल सहित राय सुझाव संकलन गरेको छ । नगरपालिकाको समग्र बिकासका लागी नगरसभाले निमार्ण गर्नुपर्ने योजना र प्राथमिकताका क्षेत्र निर्धारणका लागी नगरका राजनितिक दल तथा सरोकारवालाहरुसंग बुधबार भैरहवामा सुझाव संकलन गरीएको छ । कार्यक्रममा सहभागी सरोकावालाहरुले नगरपालिकाको प्रमुख समस्या के हो, जनप्रतिनिधीले कस्तो नगरपालिकाको परिकल्पना गरेको हो त्यही अनुसार काम गर्न सुझाव दिएका छन । सहभागीहरुले स्थानिय सरकारको मुख्य स्रोत के हो त्यसको पहिचान गरी त्यस क्षेत्रमा बजेट बिनियोजन गर्न आग्रह गरेका छन ।
जनताले चाहेको र परिकल्पना गरेको सिद्धार्थनगर र नागरीकले गर्व गर्ने खालको नगरपालिका बनाउने नीति तथा कार्यक्रम ल्याउन सहभागीहरुले माग गरेका छन । सरोकारवालाहरुले भैरहवाका बिद्यार्थीहरुलाई अन्य क्षेत्रमा अध्ययन गर्न जाननपर्ने गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने खालको निति बनाइ शिक्षा क्षेत्रमा लगानी गर्न सुझाव दिएका छन । सिद्धार्थनगर नगरपालिकामा प्रवेश गर्ने बित्तिकै भगवान गौतम बुद्धको जन्मस्थलमा प्रवेश गरेको अनुभुती दिलाउने गरी आन्तरिक र बाहय पर्यटकलाई सिद्धार्थनगरमा ब्यवस्थित रुपमा स्वागत गर्ने गरी पर्यटकीय क्षेत्रलाई प्राथमिकतामा राख्न अनुरोध गरीएको छ भने शान्त सुन्दर सिद्धार्थनगरको परिकल्पना गर्दै हर्न निषेधित क्षेत्र घोषणा गर्न नीति तथा कार्यक्रममा राख्न सहभागीहरुले सुझाव दिएका छन ।
सिद्धार्थनगरको १३ वटै वडामा टोल सुधार समिती गठन गरी कार्य गर्न सुझाव दिदै बस पार्कको ब्यवस्थित निमार्ण गर्न , बजार ब्यवस्थापन लगायत बेलहिया नाकालाई ब्यवस्थित गर्न आग्रह गरीएको छ । सिनपा वडा नम्बर ४ का सरोकारवालाहरुले युवाहरुको लागी रोजगारी मुलक कार्यक्रमलाई नीति तथा कार्यक्रममा राख्न सुझाव दिएका छन । कार्यक्रममा सहभागीहरुले आम नागरीकको स्रोतलाई मध्यनजर गर्दै आन्तरिक स्रोतबाट नगरलाई आत्मनिर्भर बनाउने निति तथा कार्यक्रम ल्याउन आग्रह गरेका छन । यस्तै गरी नगरको फोहोर ब्यवस्थापनको लागी चोक चोकमा फोहर राख्न सकिने खालका डस्बिन राख्न अनुरोध गरीएको छ ।
कार्यक्रममा महेन्द्रमान श्रेष्ठले सिद्धार्थनगरमा रहेको मायादेवी तरकारी बजारलाई ब्यवस्थित गर्न आग्रह गर्दै तरकारी ब्यवसायीहरुको लागी कोल्डस्टोरको ब्यवस्था गर्न सुझाव दिनु भएको छ । उहाले एक टोल एक उत्पादनलाई प्राथमिकतामा राख्दै कृषि क्षेत्रलाई प्रोत्साहन गर्न अनुरोध गर्नु भएको छ ।
यस्तै गरीे बालबालिकालाई भिटामिन ए र जुकाको औषधीको खुवाउनका लागी निश्चित ठाउ तोक्नका लागी सहभागीहरुले सुझाव दिएका छन । सिद्धार्थनगरका जनताले भिम अस्पतालमा उपचार गराउदा टिकट निशुल्क तथा ५० प्रतिशत छुट गर्न माग गरेका छन । ठेला ब्यवसायीहरुलाई ब्यवस्थित गरी जिबिकोपार्जनमा सहयोग गर्न आग्रह गरीएको छ भने सिद्धार्थनगर नगरपालिकाका पोलहरुमा झुण्डिएको तारहरुलाई ब्यवस्थापन गर्न सुझाव दिएका छन ।
सम्बन्धित क्षेत्रका सहभागीहरुले सिद्धार्थनगरमा अपांगता सम्बन्धी कार्यक्रम सुस्तगतिमा भएकोले अपांगताको क्षेत्रमा निति तथा कार्यक्रम बनाई बजेट बिनियोजन गरी अपांग मैत्री नगरपालिका बनाउन सुझाव दिएका छन ।
कार्यक्रममा मदरसा ब्यवस्थापन समितीका अध्यक्ष मोहम्मद अलीले सिद्धार्थनगर नगरपालिकामा रहेका मदरसाहरुको भौतिक संरचनाको ब्यवस्था गर्न आग्रह गर्नु भएको छ । उहाले मदरसाको लागी नीति तथा कार्यक्रम बनाएर बजेट बिनियोजन गर्न आग्रह गर्दै मदरसामा शिक्षक दरबन्दी ब्यवस्थापन गर्न सुझाव दिनु भएको छ ।
यस्तै गरी महिलाहरुलाई आयआर्जनमा जोडनका लागी प्रत्येक वडामा महिलाहरुको नेतृत्व बिकासका लागी बजेट छुटयाउन आग्रह गरिएको छ । नगरपालिकामा भएको कोसेली घरलाई ब्यवस्थापन गरी एडभान्स किसिमका तालिमहरु नीति तथा कार्यक्रममा राख्न सरोकारवाला महिलाहरुले सुझाव दिएका छन ।
कार्यक्रममा सहभागीहरुले नगरभित्र रहेका सरकारी बिद्यालयहरुमा कक्षा ३ देखि कक्षा १० सम्म सिसिटिभी जडान गर्न सके शैक्षिक क्षेत्रमा सुधार ल्याउन सकिने सुझाव दिएका छन । सरोकारवालाहरुले नगरपालिकाले नगरबासीको लागी केहि गर्न नसकेको गुनासो गरेका छन । उनीहरुले नगरमा भएका मसाज सेन्टरले समाजमा बिकृति फैलाएकोले यसको छुटटै स्थान तोक्न सुझाव दिएका छन । यदि यसको बिषयमा नगरले निर्णय लिन नसके सम्पुर्ण जनता मसाज सेन्टर बन्द गर्न आन्दोलनमा उत्रिने चेतावनी दिएका छन । यस्तै गरी नगरमा संचालित ईरिक्साको लागी निती तथा कार्यक्रम बनाई यसलाई ब्यवस्थित गर्न समेत आग्रह गरीएको छ ।
नगर प्रमुख इश्तियाक अहमद खानले सरोकारवालाहरुबाट प्राप्त सुझावलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति, कार्यक्रम तथा बजेट बनाउने बताउनुभयो । प्रमुख खानले यस वर्षदेखि वितरणमुखी कार्यक्रमलाई निरुत्साहित गर्दै नगरको हित हुने खालका योजना ल्याउने जानकारी दिनुभयो । कृषि, शिक्षा, स्वास्थ्य , ब्यवसाय , पर्यटन र रोजगारलाई प्राथमिकता दिएर आगामी वर्षको कार्यक्रम ल्याउने नगरप्रमुख खानको भनाई छ । नगरपालिकाको उपप्रमुख उमा अधिकारीले नगरबासीको सुझाव र चाहना अनुसार नै नगर अगाडी बढने बताउनु भएको छ । उहाले नगरपालिकाको बिकासका लागी सबै क्षेत्रको सहयोग आवश्यक भएको जोड दिनु भयो ।
प्रकाशित मिति: २०२३-०६-२२ , समय : १५:०७:१५ , १ वर्ष अगाडि