महिला उद्यमशीलता बढाउन सहुलियत कर्जाबारे महिला उद्योगीहरुसंग अन्तरसंवाद

rupandehi khabar , ३६३  पटक हेरिएको

बुटवल, असार २

महिला उद्यमशीलता बढाउन सहुलियत कर्जाबारे महिला उद्योगीहरुसंग अन्तरसंवाद भएको छ । अन्तरसंवादमा विपन्न र महिला उद्यमशीलता कर्जा सरल बनाउन रुपन्देहीका महिला उद्योगीहरुले माग गरेका छन । कर्जा सहज नहुदा लक्षित वर्गको सहभागिता नभएको रुपन्देहीका महिला उद्योगीहरुले गुनासो गरेका छन । उद्यमशीलता विकासका लागि बैंक तथा वित्तिय संस्थाबाट दिने कर्जालाई सरल र सहज बनाउन समेत उनीहरुले माग गरेका हुन । साइन रेसुंगा डेभलपमेन्ट बैंक र संचारिका समूह लुम्बिनीले एकल तथा द्धन्द्धपीडित उद्यमी महिलाहरुसंग शनिबार बुटवलमा आर्थिक संवृद्धिका लागि उद्यमशीलता, महिला उद्यमशीलता विकासका लागि वित्तिय सहजता र सहुलियत कर्जा विषयक परामर्श तथा संवाद कार्यक्रम आयोजना गरेको थियो । बैंक तथा वित्तिय संस्थालाई महिला उद्यमशीलता, साना तथा मझौला उद्योगमा १५, विपन्न वर्गमा ५, कृषिमा १५ र उर्जामा १० लगानी गर्नुपर्ने प्रावधान बनाएको छ । तर, धेरै बैंकहरुले लक्ष्यअनुसार खर्च नगर्दा समस्यामा परेको महिला उद्यमीहरुले बताएका छन ।

कार्यक्रममा बोल्दै लुम्बिनी महिला उद्यमी संघकी अध्यक्ष रचना पन्थले सहुलियत कर्जा लिन भएको व्यवधान हटाउन महिला उद्यमीलाई वित्तिय साक्षरता, कर्जाको सदुपयोग र उद्यमको छनोटमा समेत बैंकहरुले सघाउनुपर्ने बताउनु भएको छ । उद्यमी रीता सेनले महिलाभित्र पनि एकल, द्धन्द्धपीडित र सिमान्तकृत समूदायकालाई प्राथमिकतामा राखेर महिला उद्यमशीलता र विपन्न कर्जा दिन आग्रह गर्नु भएको छ ।
उद्योग परिसंघ लुम्बिनीका अध्यक्ष एजाज आलमले बैंकहरुले सहुलियत कर्जा दिनभन्दा बरु जरिवाना तिर्न सहज मान्दा विपन्न तथा थोरै ऋण चाहने महिला उद्यगीहरु सेवाप्रवाहबाट वन्चीत भएको बताउनु भएको छ । चेम्बर अफ कमर्श लुम्बिनीका अध्यक्ष टंकप्रसाद पोखरेलले ठूला र घरानिया उद्योगी व्यवसायीलाई मात्र कर्जा दिने परिपाटी रोक्न सके महिला उद्यमीहरु बैंकको पहुंचमा पुग्ने बतायनु भयो । अर्थ विश्लेषक मनिकर कार्कीले सरकारले महिला र साना उद्यमीलाई प्रोत्साहन गर्न साना प्रविधिको विकास, उद्योग दर्तादेखि ऋण प्रवाहमा सरल प्रक्रिया अपनाउन आग्रह गर्नु भएको छ ।
साइन रेसुंगा बैंकका डेपुटी सिइयो लोकराज पनेरुले बैंक उद्यमीका सहयोगी भएकाले परियोजना जोखीममा पर्ने अवस्था नभए कर्जा प्रवाह नरोक्ने बताउदै कोही उद्यमी हतोत्साही हुन नपर्ने बताउनु भयो । उहाले ६० करोड रुपैया महिला उद्यमीलाई प्रवाह भएको बताउदै विपन्न,साना उद्यमी लगायतका लक्षित र सहुलियत कर्जामा बैंक लक्ष्यभन्दा माथि रहेको बताउनु भयो । उहाले उद्यम गर्न चाहने महिलालाई सहज रुपमा ऋण दिन तयार रहेको जनाउनु भयो ।
राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक सत्येन्द्रराज सुवेदीले महिला, साना तथा लघु उद्यम बढाउन विपन्न कर्जामा बैंकहरुले विनाधितो परियोजना हेरेर पनि ऋण प्रवाह गर्न अनिवार्य गरेको बताउनु भएको छ । उहाले कुनै बैंकले लक्षीत वर्गको सहुलियत कर्जा दिन आनाकानी गरे राष्ट्र बैंकलाई जानकारी दिन पनि आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति: २०२३-०६-१७ , समय : २३:०७:३९ , १ वर्ष अगाडि