‘उद्योगी–व्यवसायीका माग सम्बोधनका लागि एकढिक्का भएर अघि बढ्नुपर्छ’

rupandehi khabar , २३४  पटक हेरिएको

भैरहवा, जेठ ७

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) र पोखरा चेम्बर अफ कमर्स, कास्कीका पदाधिकारी तथा सदस्यहरुले उद्योगी–व्यवसायीका माग सम्बोधन गर्नका लागि एकढिक्का भएर अघि बढ्नुपर्ने बताएका छन् । अध्ययन अवलोकन भ्रमण तथा अन्तरचेम्बर भेटघाट कार्यक्रमका लागि पोखरा पुगेको चेम्बर अफ कमर्स, रुपन्देहीको टोलीलाई पोखरा चेम्बर अफ कमर्सले आयोजना गरेको स्वागत, भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले उद्योगी–व्यवसायीका माग सम्बोधन गर्न एकढिक्का भएर अघि बढ्न र आवाज उठाउन आवश्यक रहेको बताउनु भएको छ । उहाले विगतमा पनि एकढिक्का भएर बढ्दो बैंक ब्याजदरविरुद्ध आवाज उठाएको बताउनु भयो । अध्यक्ष ज्ञवालीले भन्नु भयो , ‘सहकार्य गर्दै अघि बढ्नुपर्छ । यसले समस्या समाधानका लागि थप सहयोग पुग्छ ।’ सरकारले उद्योगी–व्यवसायीका कतिपय माग सम्बोधन गर्न बाँकी रहेकाले एकताबद्ध भएर आवाज उठाउँदा सम्बोधन हुने ज्ञवालीको विश्वास छ ।

उहाले अन्तरचेम्बर भेटघाट कार्यक्रमले विभिन्न चेम्बर अफ कमर्सबीच बलियो सम्बन्ध स्थापित गर्न र व्यवसाय प्रवद्र्धनका लागि सहयोग पुर्याउने बताए । उहाले चेम्बर अफ कमर्स, रुपन्देहीले विकास निर्माण कार्यमा चासो राख्दै विभिन्न निकायसँग सहकार्य गर्दै आएको बताउनु भयो । उहाले पोखरा चेम्बर अफ कमर्स, कास्कीलाई बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्न आग्रह गर्नु भएको छ ।
त्यस्तै पोखरा चेम्बर अफ कमर्स, कास्कीका अध्यक्ष यामनाथ पौडेलले चेम्बर अफ कमर्स, रुपन्देहीको टोलीलाई पर्यटकीय नगरी पोखरामा स्वागत गर्न पाउँदा खुसीको अनुभुति भएको बताउन भएको छ । उहाले समग्र व्यवसायीको हकहित र व्यवसाय प्रवद्र्धनका लागि आवश्यकता महसुस गर्दै पोखरा चेम्बर अफ कमर्स स्थापना गरिएको बताउनु भयो । उहाले व्यवसायिक संघ–संस्थाले सामाजिक क्षेत्रमा काम गर्न जरुरी रहेको बताउनु भएको छ । उहाले उद्योगी व्यवसायीका माग र समस्या सम्बोधन गर्न चेम्बर अफ कमर्सहरुबीच सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ ।
कार्यक्रममा चेम्बर अफ कमर्स, रुपन्देहीका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारी, उद्योग उपाध्यक्ष तथा भ्रमण संयोजक रामचन्द्र रेग्मी, महासचिव सचिन रोक्का, सचिवालय सदस्य सुरेन्द्र पाण्डे, रोशन बहादुर थापालगायतले बोल्दै व्यवसाय प्रवद्र्धनका लागि मिलेर अघि बढ्नुपर्नेमा जोड दिनु भयो ।

गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष यामनाथ पौडेलको अध्यक्षता, चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीको प्रमुख आतिथ्यता, पोखरा चेम्बर अफ कमर्सका सचिवालय सदस्य सिमा कोइरालाको स्वागत तथा महासचिव नवराज आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सोही क्रममा चेम्बर अफ कमर्स, रुपन्देहीको टोलीले शनिबार बिहान पोखरा महानगरपालिका–२६ गुँदेतालस्थित कुनो एकीकृत कृषि फर्म प्रा.लि. (कालिज फर्म) को अवलोकन गरेको वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठले जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२३-०५-२१ , समय : ११:१०:०० , २ वर्ष अगाडि