सिनपा ५ र १३ मा नगरपालिकाको कर प्रणाली तथा अनलाइन कर भुक्तानी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

जनताले कर तिरे अनुसारको सेवा सुबिधा पाउनुपर्नेमा कार्यक्रमका वक्ताहरुको जोड

उर्मिला यादव यात्री , ५०४  पटक हेरिएको

भैरहवा, जेठ १

जनताले कर तिरे अनुसारको सेवा सुबिधा पाउनुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । कर तिरे अनुसार जनताले सेवा सुबिधा नपाएको गुनासो गर्दै कर तिर्नु सबैको दायित्व भएको बताउदै सोही अनुसार जनताले सेवा सुबिधा पाउनु पर्ने बोल्ने वक्ताहरुको माग छ । सिद्धार्थनगर नगरपालिकाले आज वडा नम्बर ५ र १३ मा आयोजना गरेको नगरपालिकाको कर प्रणाली तथा अनलाइन कर भुक्तानी सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन ।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज पौडयालले स्थानिय तहलाई बिभिन्न करको अधिकार दिएको र करप्रणालीमा के के अधिकार दिएको छ सो तिर्नुपर्ने र नतिरेमा जरिवाना लाग्ने वा नगरपालिकाबाट पाउने सेवा सुबिधाबाट बन्चित हुने समेत बताउनु भएको छ । उहाले अब कर तिर्न वडा वडामा जान नपर्ने बताउदै नगरपालिकामा अनलाइन प्रणालीबाट कर तिर्न सकिने बताउनु भयो । नगरपालिकाको कर तिर्नका लागी धेरै ब्यक्तिले अनलाइन प्रणाली प्रयोग नगरेको उहाको गुनासो छ । स्थानिय तहका अधिकार अन्तर्गत बिभिन्न करका क्षेत्रहरु भएको र काम छिटो र सहज तरिकाले गर्न यसको समुह नै बनाएर वडा वडामा कर्मचारी खटाएको समेत उहाले जानकारी दिनु भयो । नगरपालिकाको बिकासको मुख्य स्रोत नै नगरको आन्तरिक आय भएकोले नगर भित्रको कर समयमै तिर्न नगरबासीमा पौडयालले अनुरोध गर्नु भएको छ । उहाले पुराना बक्यौदा र राजस्व नतिरेका ब्यक्तिहरुको ३५ दिने सुचना निकालेर घरजग्गा रोक्ने लगायत राष्ट्रबैंक खाता रोक्ने कानुनको परिमार्जन गर्न लागेको समेत बताउनु भयो । उहाले जनताले समयमै कर नतिर्दा नगरपालिकामा सोचे अनुरुप राजस्व संकलन गर्न नसकिएको गुनासो गर्नु भयो । २४ करोड आन्तरिक राजस्व उठाउने लक्ष्य परिकल्पना गरीएकोमा हाल सम्म १० करोड भन्दा बढी उठन नसकेको उहाको भनाइ छ ।

यस्तै गरी कार्यक्रममा बोल्दै वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले जनताले कर तिरिसके पछि नगरपालिकाले सोहि अनुसारको सुबिधा दिनुपर्ने बताउनु भएको छ । उहाले देशमा आर्थिक मन्दी तथा देश संकटपुर्ण तरिकाले गुज्रिरहेको अवस्थामा नगरपालिकाले करको बिषयमा बैज्ञानिक तरिकाले मुल्याकंन गरी उचित दररेट कायम गर्नुपर्ने बताउनु भएको छ । उहाले पछिल्लो समय नगरका सटरहरु दिनप्रतिदिन खाली हुदै गएको र बैंकको ब्याज बृद्धि हुदै गएकोले यसको ब्यवस्थापनमा तिनै तहका सरकारले ध्यान दिनुपर्ने बताउनु भयो । उहाले नगर भित्रका घरबहाल कर ब्यवस्थापनमा नगरसभामा आवाज उठाउदा पनि प्राबिधिक कारणले त्यसको सुनुवाइ नभएको र आगामी दिनमा नगरपालिकाले यस बिषयमा बैज्ञानिक तरिकाले निश्चित दररेटमा घरबहाल कर समायोजन गर्ने मा आफु बिश्वस्त रहेको बताउनु भयो ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका राजस्व शाखा प्रमुख अमित कुमार श्रेष्ठले नगरको राजस्व, राजस्व अधिकार सम्बन्धी संबैधानिक ब्यवस्था, स्थानिय तहको एकल राजस्व अधिकारका क्षेत्र, घर जग्गामा सम्पति कर लगाउने आधारहरु , राजस्व बाडफाड सम्बन्धी प्रावधान लगायतका बिषयमा सहजीकरण गर्नु भएको थियो ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज पौडयालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष सोम बहादुर गुरुंग, वडा नम्बर ७ का वडाध्यक्ष दामोदर शर्मा घिमिरे, वडा सदस्यहरु , कार्यपालिका सदस्यहरु लगायत सामाजिक ब्यक्तित्वहरुको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-०५-१५ , समय : २३:४४:५४ , २ वर्ष अगाडि