रुपन्देही खबर , २०३ पटक हेरिएको
गण्डकी , बैशाख २१
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन् । दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा उहाँले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिनु भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गत सोमबार प्रदेशसभा अधिवेशन आह्वान गर्नु भएको थियो । यही बैशाख १४ गते नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र) सात र नेकपा (एकीकृत समाजवादी) एक गरी ३५ प्रदेशसभा सदस्यको समर्थनमा उहाँ गण्डकी प्रदेशको चौथौ मुख्यमन्त्री बन्नु भएको हो ।
हाल मुख्यमन्त्री सहित दुई बिनाविभागीय मन्त्री मात्र रहेको मन्त्रिपरिषद्लाई विश्वासको मत लिएपछि पूर्णता दिने तयारीमा मुख्यमन्त्री पाण्डे हुनुहुन्छ । नियुक्त भएको भोलिपल्ट मुख्यमन्त्री पाण्डेसहित बिनाविभागीय मन्त्रीका रुपमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य सुशीला सिम्खडा र कांग्रेसकी सरस्वती अर्याल तिवारीले पद तथा गोपनीयताको शपथ लिएका थिए ।
प्रकाशित मिति: २०२३-०५-०४ , समय : ०९:४४:०८ , २ वर्ष अगाडि