उद्घाटन भइसकेको सिद्धार्थनगर–६ को वडा कार्यालय सञ्चालनमा ल्याउन एमालेको माग

रुपन्देही खबर , २९९  पटक हेरिएको

भैरहवा, चैत २५

उद्घाटन भएको १ वर्ष बढी समय भइसक्दा पनि रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय सञ्चालनमा नआएको भन्दै नेकपा (एमाले) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ कमिटीले सिद्धार्थनगर नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । २०७८ चैत १५ गते उद्घाटन भएको वडा भवन (कार्यालय) हालसम्म पनि सञ्चालनमा नआएकोले छिटो भन्दा छिटो सञ्चालनमा ल्याउन एमालेले माग गरेको हो ।

शुक्रबार नगर उपप्रमुख उमा अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै एमालेले स्थानीय तह निर्वाचन अघि नै सिद्धार्थनगर–६ स्थित पिपरहियामा निर्माण भइ उद्घाटन भइसकेको कार्यालयबाट वडाबासी तथा सेवाग्राहीलाई सेवा प्रदान गर्न माग गरेको छ । पार्टीको ‘मिसन गासरुट अभियान’ अन्तर्गत वडामा भइरहेका विभिन्न भेला तथा बैठकमा समेत वडा कार्यालयसम्बन्धमा निरन्तर प्रश्न उठिरहेको एमाले सिद्धार्थनगर–६ का अध्यक्ष राम दयाल गुप्ताले बताउनु भयो । उहाले भन्नु भयो , ‘संघीयताको मूल मर्मअनुसार नागरिकको नजिकबाट सेवा पाउनुपर्छ । तर, वडा नम्बर ६ का वडाबासी तथा सेवाग्राहीलाई सेवा लिन सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मा जानुपरेको छ । ’उद्घाटन भइसकेको वडा समितिको नयाँ भवन (कार्यालय) सञ्चालनमा आउनुपर्ने एमाले सिद्धार्थनगर–६ का सचिव मदन प्रसाद पौडेलले बताउनु भयो । उहाले जनताको मागलाई वेवास्ता गरी वडा कार्यालय वडा नम्बर ६ बाटै सञ्चालनमा ल्याउन ढिलाइ गरिए आन्दोलनका कार्यक्रममा जान बाध्य हुने पौडेलले बताउनु भयो ।

ध्यानाकर्षणपत्र बुझ्दै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले सेवाग्राहीलाई नयाँ भवनबाट छिटो भन्दा छिटो सेवा प्रदान गर्न प्रयास भइरहेको बताउनु भएको छ । उहाले भन्नु भयो ‘वडा कार्यालय उद्घाटन हुँदा विवाद थिएन्, तर, पछि पर्खाल निर्माण गर्ने क्रममा केही विवाद भयो । विवाद समाधानका लागि छलफल जारी छ । काम नभएको होइन, प्रयास भइरहेको छ । ’ जनताको आवाज उठाएको भन्दै एमाले सिद्धार्थनगर–६ वडा कमिटीलाई उहा धन्यवाद व्यक्त गर्नु भएको छ ।
ध्यानाकर्षण पत्र बुझाउन एमाले सिद्धार्थनगर–६ का अध्यक्ष राम दयाल गुप्ता, सिद्धार्थनगर कमिटी सदस्य मोहम्मद अकिल मुसलमान, झब्बालाल कहार, वडा कमिटीका उपाध्यक्ष रामप्रसाद श्रेष्ठ, सचिव मदन प्रसाद पौडेल, उपसचिवद्वय आनन्द प्रसाद न्यौपाने, अनिता थापा, अखिल नेपाल महिला संघ सिद्धार्थनगर–६ कमिटी अध्यक्ष विन्दु पौडेल, विद्यार्थी नेतृ स्वेता हरिजन, सोहन हरिजन, सुक बहादुर आले, कल्पना ज्ञवाली, विष्णु भण्डारी, राधेश्याम सुनार, शम्भु गुप्तालगायत नेता कार्यकर्ता शुक्रबार सिद्धार्थनगर नगरपालिकाको कार्यालय पुगेका थिए ।

प्रकाशित मिति: २०२३-०४-०८ , समय : ०७:२८:५९ , २ वर्ष अगाडि