रुपन्देही खबर , ३४३ पटक हेरिएको
भैरहवा, चैत ११
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले कुनै पनि राजनितिक दलमाथि जनताको बिश्वास नभएको बताउनु भएको छ । शुक्रबार पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रुपन्देहीको जिल्ला अधिवेशनलाई भैरहवामा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले २०६२, ६३ को परिर्वतन, संघियता, गणतन्त्र, धर्मनिरपेक्षता ल्याएको दाबी गर्ने राजनितिक दलहरु कुनै हालतमा नसुध्रिने बताउनु भयो । उहाले राजनितिमा इमानदारीता, नैतिकता , नेपाली राजनितिमा जिबित छ भन्ने प्रमाणित गर्न आफुहरु सरकारबाट बाहिरिएको बताउनु भयो । उहाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार माओवादी केन्द्रको मात्रै सरकार हो भन्दै प्रश्न गर्नु भएको छ । उहाले राप्रपाले सरकार छोडने बित्तिकै प्रचण्ड नेतृत्वको सरकारले हतारहतारमा युद्धमा ज्यान गुमाएका व्यक्तिको सूची प्रकाशित गरेको र त्यो सूचीमा जीवित मानिसको नाम समेत रहेको बताउनु भयो । माओवादी सरकारलाई देशको अवस्थाको बारेमा नभइ पार्टीको अवस्थाको बारेमा चिन्ता रहेको जोड दिनु भयो । केही समयका लागि सरकारको नेतृत्व गर्ने मौका पाएको माओवादीले द्वन्द्वको बेला भएका जघन्य अपराधका घटनालाई माफी दिन मिल्ने गरी विधेयक ल्याउन खोजिएको बताउनु भयो । उहाले देशले बलियो राजनितिक शक्ति खोजिरहेको उल्लेख गर्दै अव जनताले परिकल्पना गरेको शक्ति भनेकै राप्रपा भएको बताउनु भयो उहाले द्वन्द्वको मारमा परेका व्यक्तिहरुका पक्षमा राप्रपा उभिने र उनीहरुको मुद्दा उठाएर अन्याय हुन नदिने बताउनु भयो ।
उहाले देशलाई दुर्घटनाबाट बचाउन राजनीतिमा सुधार हुनुपर्ने जोड दिनु भयो । राजनीतिमा सुधार गर्न र परिवर्तन ल्याउने देशको जनसंख्याको आधार हिस्सा ओगटेका महिलालाई पाखा लगाएर सुधार हुन नसक्ने दाबी गर्नु भयो । राजनीतिमा महिलाको हस्तक्षेपकारी भूमिका हुनुपर्छ भनेर महिला संगठनलाई राप्रपाले प्राथमिकता दिएको उहाको भनाइ छ । पछिल्लो समय नेपालका ५० लाख युवाहरु खाडी मुलुकमा रहेको र बिहे गरेको भोलिपल्ट श्रीमती र परिवारलाई छाडेर विदेश जानुपरेको उहाले बताउनु भयो । देशमै रोजगारी सिर्जना गर्न राजनीति अवस्थामा परिवर्तन गर्न जरुरी रहेको अध्यक्ष लिङ्देनले उल्लेख गर्नु भयो ।
उहाले राष्ट्र बैंक र सरकारको उदासिनताका कारण मुलुकमा आर्थिक संकट उत्पन्न भएको बताउनु भयो । अध्यक्ष लिङ्देनले बैंक ब्याजदर बढ्दा उद्योगी व्यवसायी पलायन हुने अवस्था आएको उल्लेख गर्नु भयो । उहाले नेपालमा राजतन्त्रको आवश्यकता भएको जनताले महसुस गरिरहेको दावी गर्नु भयो ।
राप्रपा वरिष्ठ नेता, प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री दीपक बोहराको भनाइलाई उद्वृत गर्दै पार्टीको केन्द्रीय सदस्य स्वाती थापाले नेपालका हरेक आन्दोलन र परिवर्तनमा महिला अग्रमोर्चामा भइ काम गरेको इतिहास भएको बताउनु भएको छ । उहाले महिलाको समान सहभागीता आवश्यक रहेको जोडदिनु भयो ।
पार्टीका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले महिला अधिकारका लागि राप्रपा अघि बढेको बताउदै नारी पुरुष अन्याय अत्याचारविरुद्ध एकजुट भएर अघि बढ्नुपर्ने जोड दिनु भयो ।
राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी केन्द्रीय अध्यक्ष अञ्जना शाह रावलले राप्रपाले जित्दा र यो पार्टीको एजेण्डा स्थापित हुँदा मात्र मुलुकको विकास हुने दावी गर्नु भयो । उहाले राप्रपा अन्य दल भन्दा पृथक रहेको बताउनु भयो । यस्तै गरी रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणाले एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।
कार्यक्रममा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी रुपन्देही अध्यक्ष पदमा थापा, चित्ररेखा चौधरी, मन्जु चौधरी, माया रोका मगर, निलु कुमारी चौधरी लगायतले बोल्दै परिवर्तनका लागि महिला अघि बढ्नुपर्ने बताउनु भयो । कार्यक्रममा विभिन्न नेकपा एमाले पार्टी परित्याग गरी नेता कार्यकर्ता राप्रपामा प्रवेश गरेका थिए ।
यसैबीच राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको केन्द्रीय महाधिवेशन आउदो वैशाखमा हुने भएको छ । वैशाख २४ र २५ गते काठमाडौंमा हुने संगठनले जनाएको छ । सोहीअनुसार संगठनको विभिन्न जिल्लामा अधिवेशन भइरहेको छ ।
प्रकाशित मिति: २०२३-०३-२५ , समय : ०९:१०:१७ , २ वर्ष अगाडि