सरावल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उमेदवार विजयी

हरि शर्मा , २३७  पटक हेरिएको

नवलपरासी , जेठ ४

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उमेदवार विजयी भएका छन्। अध्यक्षमा सुखाडीप्रसाद चौधरी र उपाध्यक्षमा बासमति हरिजन विजयी भएका हुन्। 

अध्यक्ष पदमा निर्वाचित चौधरीले नेपाली कांग्रेसका अनिलकुमार गौडलाई २९ सय ७० मतको फराकिलो अन्तरले पराजित गरे। चौधरीले ७ हजार ५९ ल्याउँदा गौडले ४ हजार ८९ मत ल्याए। त्यस्तै उपाध्यक्षमा निर्वाचित हरिजनले नेपाली कांग्रेसकी उत्तमा रायलाई ३ सय ९४ मतले पराजित गरिन्। 

हरिजनको ५७ सय ४३ मत छ भने रायको ५३ सय ४९ छ। पराजित राय निवर्तमान उपाध्यक्षसमेत हुन्। यसअघि गाउँपालिकामा दुबै पद कांग्रेस (अध्यक्षमा तत्कालीन फोरम लोकतान्त्रिक, पछि कांग्रेसमा समाहित) ले जितेको थियो । 

७ वटा वडा रहेको गाउँपालिकामा वडा नं १ मा एमालेका विष्णुप्रसाद भट्टराई, वडा नं. २ मा नेपाली कांग्रेसका शम्भुप्रसाद चौधरी वडाध्यक्षमा विजयी भएका छन्। वडा नं. ३ को अध्यक्षमा राप्रपाका फिरङ्गी चौधरी र वडा नं. ४ मा एमालेका सुरेश यादवले वडाध्यक्षमा विजयी भएका छन्।

वडा नं. ५ मा नेपाली कांग्रेसका लक्ष्मणप्रसाद चौधरी, वडा नं. ६ मा नेपाली कांग्रेसका छोटेलाल गुप्ता र वडा नं. ७ मा माओवादी केन्द्रका हेयात खाँ धुनिया वडाअध्यक्षमा निर्वाचित भएका छन्।

प्रकाशित मिति: २०२२-०५-१८ , समय : १०:५५:०२ , २ वर्ष अगाडि