रुपन्देहीको भिम अस्पताल भैरहवामा सिटी स्क्यान तथा ब्लड बैंक सेवाको उदघाटन

उर्मिला यादव यात्री , ४१६  पटक हेरिएको

भैरहवा, फागुन १५

रुपन्देहीको भिम अस्पताल भैरहवामा आज एक कार्यक्रमका बिच सिटी स्क्यान तथा ब्लड बैंक सेवाको उदघाटन गरीएको छ । २ करोड ७४ लाख ४० हजार रुपैयाँ लागतमा अस्पतालमा सिटी स्क्यान राखिएको हो । बिरामीहरुलाई थप सेवा प्रदान गर्ने उद्देश्यले सिटी स्क्यान र अस्पतालमा उपचार गर्ने बिरामीहरुलाई सहज तरिकाले सुविधा दिने उद्देश्यका साथ ब्लड बैंकको स्थापना गरिएको हो ।


सिटी स्क्यान तथा ब्लड बैंक सेवाको आज उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री विष्णु प्रसाद पन्थीले भिम अस्पतालले कोरोनाकालको असहज परिस्थितीमा पनि सीमित साधनस्रोतका बाबजुद पनि स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण योगदान पुरयाएको बताउनु भएको छ । उहाले अस्पतालका कर्मचारीहरुलाई मुस्कान सहित सेवा प्रदान गर्न आग्रह गर्नु भएको छ । मन्त्री पन्थीले भीम अस्पतालमा धेरै सुधार भएकोले अस्पतालको प्रशंसा गर्नुपर्ने बताउनु भयो । उहाले न्युनतम आवश्यक जनशक्ति प्रदेश सरकारले अस्पताललाई उपलब्ध गराउने प्रतिवद्धता व्यक्त समेत गर्नु भएको छ । प्रदेश सरकारले न्युनतम साधन स्रोतको कमी हुन दिदैन उहाले भन्नु भयो । मन्त्री पन्थीले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको बजेटमा उल्लेख्य बुद्धि गरेको बताउदै स्वास्थ्य क्षेत्रमा धेरै महत्वपुर्ण बजेट छुट्याएको बताउनु भयो ।

स्वास्थ्य क्षेत्रमा जनशक्ति ब्यवस्थापन लगायत बिषयमा प्रदेश सरकारले कमी हुन नदिने प्रतिबद्धता जनाउदै आगामी दिनमा भिम अस्पताल सबैको पहिलो रोजाइ होस भन्दै शुभकामना दिनु भएको थियो । उहाले अस्पतालबाट उपलब्ध हुने सेवाका लागि बाहिर पठाउने कार्य नगर्न आग्रह गर्नु भएको छ । उहाले अस्पतालमा सरसफाइको अति महत्व भएकोले यसको सरसफाईमा विशेष ध्यान दिनुपर्ने आग्रह गर्नु भयो ।

यस्तै गरी जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले भीम अस्पतालमा धेरै सुधार भएको बताउनु भएको छ । उहाले अस्पतालमा कुनै पनि समस्या आए स्थानिय तहसंग समन्वय गरेर अस्पताललाई अगाडि बढाउन जिल्ला समन्वय समितिको साथ र सहयोग रहने बताउनु भयो । उहाले अस्पतालको भवन र उपकरण मात्रै राम्रो भएर नहुने बताउदै चिकित्सक र स्वास्थ्यकर्मीले बिरामीलाई मुस्कान सहितको सेवा दिनुपर्ने जोड दिनु भयो । उहाले मनोबिज्ञान सहित सेवाग्राहीलाई सेवा दिन आग्रह गर्नु भएको छ । अस्पताललाई सुधार गर्न सके मात्र सहयोगी हातह? पनि बढने बताउनु भयो । उहाले स्वास्थ्य क्षेत्रमा भएको कमिशनको खेलो निराकरण गर्न सके मात्र गुणस्तरीय सेवा प्रदान गर्न सकिने बताउनु भयो ।

यस्तैगरी सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले अस्पतालमा आएका बिरामीसँग चिकित्सक तथा स्वास्थ्यकर्मीले राम्रो व्यवहार गर्नुपर्ने बताउनु भएको छ । उहाले स्वास्थ्य क्षेत्रमा खेलवाड गर्ने अधिकार कसैलाई पनि नभएको गुनासो गर्नु भयो । भिम अस्पतालमा बिरामीसंग हुने र गरिने ब्यवहारमा सुधार गर्न आवश्यक रहेकोले अस्पताललाई यस बिषयमा सचेत हुन आग्रह गर्नु भयो । सेवा प्रदान गर्ने ठाउमा राम्रो ब्यवहार हुनुपर्ने उहाको माग छ । उहाले अस्पतालले आजदेखि संचालनमा ल्याएको सिटी स्क्यान तथा ब्लड बैंक सेवा छिटटै सुचारु गर्न आग्रह गर्नु भयो ।

भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले भिम अस्पतालमा आधुनिक प्रसुती गृह निमार्ण भैरहको जानकारी दिनु भएको छ । उहाले अस्पतालको जनरल भवनको मास्टर प्लान पास भैसकेको बताउदै त्यो बनेपछि भिमअस्पतालको मुहार नै फेरिने बताउनु भयो । उहाले यस अस्पतालको लागी सिद्धार्थनगर नगरपालिकाको सहयोगमा कर्मचारी तालिम हल र पार्किंग हल निमार्ण भैरहेको जानकारी दिदै अस्पतालको बिकासको लागी सबैको सहयोग आवश्यक पर्ने बताउनु भयो । उहाले अस्पतालमा स्वास्थ्य बिमा लगायत सामाजिक इकाइबाट गरिब बिरामीहरुको निशुल्क उपचार गर्दै आएको बताउनु भयो ।

भिम अस्पतालले ५० शैयाको स्विकृती पाइसकेको बताउदै अब यसलाई एक सय शैयाको अस्पतालको रुपमा अगाडी बढाउन आवश्यक रहेको बताउनु भयो । उहाले अबदेखि सबैले यही ठाउमा उपचार गराउने ठाउको रुपमा यस अस्पताललाई बिकास गर्नुपर्नेमा जोड दिनु भयो । अध्यक्ष भण्डारीले आफूले अस्पताल विकास समितिको नेतृत्व सम्हालिसकेपछि सहयोगको लागी ओइरो नै लागेको बताउनु भयो ।

यस्तै गरी भिम अस्पतालकी प्रमुख डा.शकुन्तला गुप्ताले भिम अस्पतालमा विगत भन्दा विशेषज्ञ सेवा थप गरिएको जानकारी दिनु भएको छ । उहाले यस अस्पतालले प्रदेश सरकारको अपनत्व लिएर यसको गुणस्तर सुधारको लागी काम गर्दै आएको र अस्पतालको विकासमा प्रदेश सरकारको ध्यान जाने र अस्पतालमा भएका समस्या समाधान हुने कुरामा विश्वस्त रहेको बताउनु भयो । उहाले दरबन्दी अनुसार जनशक्ति नहुँदा समस्या भएको बताउनु भयो । उहाले अस्पतालका डाक्टरले ४ महिनादेखि तलब पनि नपाएको गुनासो गर्नु भएको छ ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी नेपालका गभर्नर नवराज न्यौपानेले लायन्सले अस्पताललाई ४० लाख बराबरको भिडियो एक्स–रे र ईसिजी मेसिन उपलब्ध गराएको बताउनु भएको छ । उहाले अस्पताललाई उपलब्ध गराइएको उपकरण तथा मेसिनको सही सदुपयोग हुनुपर्नेमा जोड दिनु भयो ।

यस्तै गरी सिद्धार्थ उद्योग वाणिज्य संघ ?पन्देहीका अध्यक्ष भिष्म प्रसाद न्यौपानेले निजी क्षेत्रले अस्पताललाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको बताउनु भयो ।

चेम्बर अफ कमर्स रुपन्देही (उद्योग व्यापार संगठन)का अध्यक्ष अनिल कुमार ज्ञवालीले अस्पतालबाट अन्यत्र रिफर गर्न नपर्ने परिस्थितिको सिर्जना गर्नुपर्ने बताउनु भएको छ । उहाले कोरोनाकालमा भीम अस्पतालमा धेरै बिरामीको उपचार भइ ज्यान बचेको बताउनु भयो ।

नमुना एकीकृत विकास परिषद रुपन्देहीकी निवर्तमान अध्यक्ष ज्ञानु पौड्यालले भीम अस्पतालले स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान पुर्याएको बताउनु भएको छ । उहाले केही सेवाका लागि भारतका विभिन्न ठाउँमा पठाउने गरिएकाले यो कार्य रोक्नुपर्ने बताउनु भयो । उहाले अस्पतालमा सुरु भएका सेवाका लागि बाहिर पठाउन नहुने बताउनु भयो ।

यस्तै गरी भैरहवा मर्निङ वाक ग्रुपका अध्यक्ष ओमकार गौचनले स्वास्थ्यकर्मीले बिरामीलाई राम्रो व्यवहार गर्नुपर्ने बताउनु भएको छ । भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीको अध्यक्षता, स्वास्थ्य मन्त्री विष्णु प्रसाद पन्थीको प्रमुख आतिथ्यता, अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा शकुन्तला गुप्ताको स्वागत तथा जनस्वास्थ्य निरीक्षक बाबुराम विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा कोरोना महामारीमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, संघ–संस्था लगायतलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: २०२३-०२-२७ , समय : २१:३१:२८ , २ वर्ष अगाडि