रुपन्देहीको मर्चवारी गाउपालिकामा बालिका बिमा प्रमुख प्राथमिकतामा

१ सय ९ जना बालिकाको बिमा गरीयो

उर्मिला यादव यात्री , ४९९  पटक हेरिएको

भैरहवा, फागुन ११

रुपन्देहीको मर्चवारी गाँउपालिकाले छोरा वा छोरी दुबै बराबरी भन्ने मुल नारालाई सार्थक बनाउनका लागी बालिका बिमा कार्यक्रमलाई अगाडी बढाएको छ । रुपन्देहीको बिकट क्षेत्रको रुपमा गनिने मर्चवारमा अझै पनि जनचेतनाको अभाव, शिक्षाको कमी , छोरा भन्दा छोरीको महत्व कम, बालबिवाह, महिला हिंसा लगायत घटनाहरुमा कमी आउन नसकेकोले सोको न्युनीकरणका लागी बालिका बिमा कार्यक्रमलाई गाउपालिकाले प्रमुख उदेश्यका साथ प्राथमिकतामा राखेको छ । मर्चवारी गाउपालिकामा रहेका सातै वडाभित्रका गर्भवती महिलाहरुले स्थानिय रायपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बच्चा जन्माएमा वा सो केन्द्रले रिफर गरेको खण्डमा जिल्लाको कुनै पनि अस्पतालमा छोरी जन्मेमा २० हजार रुपैया बराबरको बिमा गर्दै आएको छ । बालिका बिमाका लागी सोही गाउपालिकाको हुुनुपर्ने , जन्मदिने बाबु आमाको नागरीकता प्रतिलिपी, बच्चाको जन्मदर्ता , जन्म भएको अस्पतालको जन्मप्रतिबेदन , आमा र बच्चाको फोटो र निबेदन दिएर बालिका बिमा गर्न सकिने मर्चवारी गाउपालिका उपाध्यक्ष आशा सिंहले जानकारी दिनु भएको छ ।

गाउपालिकामा बालिका बिमा लागु गरे संगै पछिल्लो समय जन्मदर्ता र बिवाह दर्ता लगायतका कामहरुमा पनि समयमै हुने गरेको गाउपालिका अध्यक्ष गया प्रसाद बरईले बताउनु भएको छ । गाउपालिकाले बालिका बिमा योजना सुरु गरेपछि छोरीलाई हेर्ने दृष्टिकोण फरक भएको छ भने महिलाहरु यो बिमाले छोरीको भबिष्यमा महत्वपुर्ण भुमिका खेल्ने बिश्वास समेत गरेका छन ।

महिलालाई स्वास्थ्य संस्थामा नै सुुत्केरी गराउनुपर्ने उदेश्यका साथ मर्चवारी गाउपालिकाले यो योजना लागुु गरेको र अहिले सो संख्यामा समेत बृद्धि भएको अध्यक्ष बरईले बताउनुु भयो । बालिका बिमा सुरु भएसंगै आज बिहीबार सम्म १ सय ९ जना बालिकाको बिमा गरीएको छ । मर्चवारी गाउपालिका वडा नम्बर १ मा १५, दुईमा ११, तीनमा २६, ४ मा १४, वडा नम्बर ५ मा १२, वडा नम्बर ६ मा १७ र वडा नम्बर सातमा १४ जना बालिकाहरुको बिमा गरीएको मर्चवारी गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुुख फेकन शाहले जानकारी दिनुु भएको छ ।

प्रकाशित मिति: २०२३-०२-२३ , समय : २२:३९:५७ , २ वर्ष अगाडि