रुपन्देही खबर , २०० पटक हेरिएको
काठमाडौं, माघ २४
भारतविरुद्ध ३-१ को पुनरागमन जितसहित नेपाल बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई पराजित गरेको हो । पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा पुनरागमन गर्दै तीन गोल गर्यो । खेलको २१औं मिनेटमा अपुर्व नाजारीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् ।
तर ४७औं मिनेटमा अन्जली चन्दले नेपालका लागि बराबरी गोल गर्दै खेलमा फर्काइन् । कप्तान प्रिती राईले ६८औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाइन् । अग्रता बनाएपछि भारतमाथि हावी भएको नेपालका लागि अमिसा कार्कीले ८९औं मिनेटमा गोल गर्दै ३-१ को जित दिलाइन् ।
पहिलो खेलमा बंगलादेशसँग ३-१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ४-० ले पराजित गरेको थियो । नेपालले तीन खेलबाट दुई जित र एक हारसहित ६ अंक जोड्यो ।
भारतले भने एक जित एक हार र एक बराबरीबाट ४ अंक मात्र जोड्न सक्यो । हारपछि भारत भने फाइनल होडबाट लगभग बाहिरिएको छ । भारतले फाइनल पुग्ने हो भने आजै हुने अर्को खेलमा भुटानले बंगलादेशलाई अनिवार्य पराजित गर्नुपर्नेछ । तर यसअघिका दुई खेल हार्दै बाहिरिसकेको भुटानले बंगलादेशलाई हराउनु निकै चुनौतीपूर्ण छ ।
नेपाल फाइनल पुगेको यो दोस्रो पटक हो । सन् २०१८ मा पहिलो पटक भएको च्याम्पियनसिपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो
प्रकाशित मिति: २०२३-०२-०७ , समय : १८:०७:२२ , २ वर्ष अगाडि