लुम्बिनीमा रामकथा प्रवचन कार्यक्रमको शान्तीपुर्ण बिरोध प्रदर्शन

रुपन्देही खबर , ३४९  पटक हेरिएको

कञ्चन , माघ २३

सोमबार दिनभरी नै लुम्बिनी तनावग्रस्त रहयो शान्तीका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा धार्मिक तथा सांस्कृतिक हस्तक्षेप हुन लागेको भन्दै माघ २४ गतेबाट शुरु हुने रामकथा प्रवचन कार्यक्रम बिरुद्ध बौद्धमार्गीहरुबाट भएको शान्तीपुर्ण प्रदर्शनका कारण लुम्बिनी सोमवार दिनभर अशान्त बन्न पुगेको थियो । बौद्धमार्गी संयुक्त संघर्ष समितिको आयोजनामा लुम्बिनीको पर्साचोकमा शान्तीपुर्ण बिरोध र्याली सहितको कोण सभामा सहभागी हुन पुगेको प्रदर्शनकारी माथी एक्कासी ढुंगा प्रहारहुँदा एकजना प्रदर्शनकारीको निधारमा गम्भिर चोट लागेको छ। त्यसपछि शान्तीभुमी लुम्बिनी सोमवार दिउसो भरी अशान्त बन्यो।

भारतिय हिन्दु गुरु मुरारी वाप्पुद्वारा लुम्बिनीको सभाहलमा माघ २४ गते देखि हुन लागेको रामकथा प्रवचन कार्यक्रम गैरबौद्ध कार्यक्रम भएको र शान्तीका प्रतिक गौतमुबद्धको जन्मस्थलमा हिन्दु धर्म सम्बन्धी कार्यक्रम गर्नु भनेको बौद्ध दर्शन, मुल्यमान्यता बिरुद्ध भएको र सो कार्यक्रमले बौद्धमार्गी तथा बौद्ध धर्मावलम्बीहरुको आस्थामाथी ठाडो हस्तक्षेप भएको हुने भन्दै रामकथा प्रवचन अविलम्ब रोक्नका लागि दवाव दिन गरिएको बौद्धमार्गीहरुको शान्तीपुर्ण र्याली र कोण सभाका प्रदर्शनकारी माथी स्थानीयहरुबाट ढुंगा प्रहार भएको थियो।

शान्तीपुर्ण र्यालीमा सहभागी हुन लुम्बिनी पुगेका बौद्धमार्गीहरुमाथी स्थानीयहरुबाट ढुंगा प्रहार भएपछि भारतिय हस्तक्षेप बन्द गर, लुम्बिनी बिकास कोषका उपाध्यक्षले राजिनामा दे, सबै धर्म जाती समुदाय मिलेर बसेको देशमा धार्मिक तथा सांस्कृति हस्तक्षेप गरी दण्ड सृजना गर्ने कार्य बन्द गर जस्ता नारा लगाउदै प्रदर्शनकारीहरु पर्साचोकबाट लुम्बिनी बिकास कोषको कार्यालय अगाडी सम्म र्याली गर्दै पुनः पर्साचोकमै पुगेर कोण सभा गरेका थिए।

यत स्थानीयहरुले भने तिमीहरु बुद्ध होइन, बुद्धको जन्मस्थल लुम्बिनी बचाएको हामीले हो, लुम्बिनीमा रामकथा प्रवचन गर्न पाउनु पर्छ जस्ता नारा लगाउदै बिरोध कार्यक्रमको बिरोध गरेका थिए। कोण सभा सकिएर घर फर्किन लागिरहेको बेला स्थानीयहरुबाट ढुंगा, ईट्टा, लट्ठीले प्रहार गरे पछि प्रदर्शनकारीहरुले पनि ढुंगा र ईट्टाले प्रहार गरेका थिए। प्रदर्शनकारी र स्थानीय बिचको दोहोरो ढुंगा प्रहारबाट दुबैतर्फकालाई सामान्य चोट लागेको नेपाल आदीवासी जनजाती महासंघ समन्वय परिषद रुपन्देहीका अध्यक्ष चित्र तुलाचनले जानकारी दिनु भयो।

बौद्धमार्गीहरुले प्रदर्शन गरेको शान्तीपुर्ण र्याली तथा कोणसभालाई लक्षितगरी स्थानीयहरुद्वारा लट्ठी सहित प्रदर्शनमा उत्रिए पनि प्रहरी प्रशासनको कडा सुरक्षा व्यबस्थाकारण लुम्बिनीलाई दोहोरो भिडन्त हुनबाट जोगाइएको छ। दुबै तर्फको ढुंगा हानाहानका कारण केही सुरक्षाकर्मी र कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकाललाई समेत सामान्य चोट लागेको छ।

बौद्धमार्गीहरुले आयोजना गरेको कोणसभामा नेपाल मगर संघ, केन्द्रिय सह अध्यक्ष दल बहादुर बिरकट्टा मगर, तमु ह्युल छोंज धीका झम बहादुर गुरुंग, नेपाल आदीबासी जनजाती महासंघका निर्वतमान अध्यक्ष शंकर गाहा, नेपाल मगर महिला संघका लुम्बिनी प्रदेश इञ्चार्ज राधिका श्रीस लगायतले सम्बोधन गर्दै माघ २४ गते देखि बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा भारतिय हिन्दु गुरु मोरारी बाप्पुबाट हत्या हिंसा जोडिएको रामकथा प्रवचन अहिंसा र शान्तीको प्रतिक मानिदै आएको बुद्ध बिचार बिरुद्ध हुने भएकोले अविलम्ब रामकथा प्रबचन रोक्न आग्रह गरेका थिए।

शान्तीको प्रतिक सिद्ध बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा नव निर्मित सभा हलमा हुने भनिएको गैर बौद्ध धर्मावलम्बी कार्य त्यस क्षेत्रमा रहेको स्थलहरुमा सञ्चालन गर्नु गलत हुने भएकोले रामकथा प्रवचन कार्यक्रम अविलम्ब स्थगित गर्न समेत आग्रह गर्दै वक्ताहरुले विश्व सम्पदा सूचिमा सूचिकृत भगवान बुद्धको पवित्र जन्म स्थलमा लुम्बिनी गैह्र बौद्ध धार्मिक कार्य संचालन गर्दा ऐतिहासिक भूगोलको समेत अपमान हुनुका साथै समाजमा असन्टुष्टी श्रृजना हुने र धार्मिक दंगा निम्तिन सक्ने खतारा उत्पन्न भएको बताए।

शान्तीपुर्ण र्यालीमा सहभागी हुन रुपन्देहीको बुटवल, भैरहवा, तिलोत्तमा, कञ्चन, देवदह, कपिलबस्तु, नवपरासी र दांगबाट समेत बौद्धमार्गीहरु लुम्बिनी आएका थिए। नेपाल मगर बौद्ध सेवा समाज लुम्बिनीका अध्यक्ष तथा बौद्धमार्गी संयुक्त संघर्ष समितिका अध्यक्ष पार्वती घर्ति मगरको नेतृत्वमा भएको बिरोध र्यालीमा थारु बौद्ध सेवा समाज, नेपाल आदीवसी जनजाती महासंघ रुपन्देही, नेपाल मगर संघ, रुपन्देही, तमु ह्युल छोंज धी, धर्मोदया सभा लगायत बिभिन्न बुद्ध गुम्बा तथा बिहार व्यबस्थापन समिति र बौद्धमार्गीहरुको सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०२३-०२-०६ , समय : २०:३६:५९ , २ वर्ष अगाडि