नवलपरासीको पहिलो महिला पत्रकार भण्डारी सम्मानित

रुपन्देही खबर , २६५  पटक हेरिएको

नवलपरासी , माघ २२

पश्चिम नवलपरासीकै पहिलो महिला पत्रकार शान्ता भण्डारी आइतबार एक कार्यक्रममा सम्मानित हुनु भएको छ । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा पत्रकार शान्ता भन्डारी भण्डारी सम्मानीत हुनु भएको हो । प्रेस चौतारी नेपाल नवलपरासीले प्रदान गर्दै आएको प्रेस चौतारी सृजनशील पत्रकारीता पुरस्कार यस बर्ष पत्रकार भण्डारीलाई प्रदान गरिएको छ ।

नेकपा एमाले नवलपरासीका अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले आफ्नो छोरा शक्ति अधिकारीको स्मृतिमा सो सृजनशील पत्रकारीता पुरस्कार दिंदै आउनु भएको छ । कार्यक्रममा पत्रकार भण्डारीलाई नगद रु‍ १० हजार, सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको हो । 

कार्यक्रम प्रेस चौतारी नेपाल नवलपरासीका अध्यक्ष मेघराज गौतमको अध्यक्षता तथा नेकपा एमाले रामग्राम नगर कमिटिका इन्चार्ज एवं रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । यस अघि प्रेस चौतारी नेपालले ६ जना पत्रकारलाई सृजनशील पत्रकारीता पुरस्कारबाट सम्मानीत गरिसकेको छ । सम्पन्न कार्यक्रममा २ लाख बराबरको प्रेस चौतारी पत्रकार कल्याणकारी कोषको घोषणा गरिएको छ भने कोषका लागि रु ३३ हजार रकम जम्मा भएको प्रेस चौतारीका सचिव रामु भुषालले जानकारी दिनु भयो । 

सो अवसरमा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडि चौधरी, नेकपा एमाले जिल्ला कमिटि सदस्य एवं प्रेस चौतारी इन्चार्ज नारायण पाण्डे, नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्मा, प्रेस चौतारी लुम्बिनी प्रदेश सचिव बेनीमाधव बस्याल, सम्मानीत पत्रकार शान्ता भण्डारी, उपाध्यक्ष गौरीशंकर जयसवाल, सदस्य विकास अधिकारी लगायतले २५ औं बार्षिक उत्सवको अवसरमा शुभकामना व्यक्त गर्नु भएकाे थियो ।

प्रकाशित मिति: २०२३-०२-०५ , समय : १८:४९:०८ , २ वर्ष अगाडि