८२ औँ शहिद दिवस तथा सिसासको वार्षिकोत्सवमा साहित्यकार सम्मानित

रुपन्देही खबर , ३२२  पटक हेरिएको

भैरहवा, माघ १६

८२ औँ शहिद दिवस तथा सिर्जनशील साहित्यिक समाज(सिसास)को १९ औँ वार्षिकोत्सवका अवसरमा ६ जना स्रष्टा सम्मानीत तथा पुरस्कृत भएका छन् । कार्यक्रममा साहित्यकारहरुले शहिदहरुको योगदान महत्वपूर्ण रहेको बताउँदै शहिदहरुलाई सम्झीएका थिए । सिर्जनशील श्री फाइनान्स साहित्यिक पुरस्कारबाट प्रा डा कपिलदेव लामिछाने १५ हजार ५ सय ५५ राशीबाट पुरस्कृत भएका छन् भने, सिर्जनशील स्रष्टा सम्मानबाट सिसासका पूर्व अध्यक्ष तथा सल्लाहकार शशि पन्थी सम्मानीत भएका छन् । त्यसैगरि सिर्जनशील गंगा साहित्य पुरस्कारबाट साहित्यकार यादव भट्टराई ११ हजार राशीको पुरस्कारबाट पुरस्कृत भएका छन् ।

त्यसैगरि सिर्जनशील छविलाल साहित्यिक पुरस्कारबाट साहित्यकार युवराज खनाल २ हजार १ सय राशीबाट, शिक्षा क्षेत्रमा क्रियाशील चन्द्रप्रकाश उपाध्याय सिर्जनशील रमाकान्त साहित्यिक पुरस्कारबाट ५ हजार ५ सय ५५ राशीबाट, सिर्जनशील काशी प्रतिभा पुरस्कारबाट बेलहिया माविकी छात्रा बबिता यादव सम्मानीत तथा पुरस्कृत भएको सिसासका अध्यक्ष कमल पोख्रेलले जानकारी दिनु भयो ।

कार्यक्रममा प्रमुख अतिथिकोरुपमा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका अनुसन्धान निर्देशक तथा वरिष्ठ संस्कृतिविद् प्राडा गितु गिरीले साहित्य समाजको दर्पण भएको बताउँदै सरकारी सम्मान आसे पासे र गासेले मात्रै पाउने तर यो सम्मान नागरिक स्तरको उच्च स्तरीय सम्मान भएको बताए । साहित्य समाजको दर्पण हो । रक्त रहित हतियार हो प्राध्यापक डाक्टर गिरीले भने, कलमजीवि समाजका शसक्त हतियार हुन्छन् । साहित्यमा इतिहास, संस्कृति जोडिएको छ । जीवनको जिवन्त साहित्य हो । बौद्ध धर्मलाई बढी धर्मको रुपमा प्रचार गरेको तर्क गर्दै गिरीले भने, बौद्ध धर्म होइन दर्शन हो । सोँच विचार अमूर्त साहित्य हो । बौद्ध दर्शनमा सुरु देखी नै साहित्य लेखन भएको पाइन्छ ।

सिसासको २ सय २९ औँ नियमित मासिक साहित्यिक संगम समेत रहेको कार्यक्रममा साहित्यकारहरु प्राज्ञ बूँद राना, विजय सागर, रुद्र ज्ञवाली, नारायणप्रसाद भण्डारी, सुरज घिमिरे दीपशीखा, छवि ज्ञवाली, सुवास रिजाल, सिर्जना खनाल, उर्मिला यादव यात्री , सीता काफ्ले लगायतले रचना बाचन गरेका थिए ।

कार्यक्रममा ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालयका ब्रह्मा कुमार, सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लिराज भट्टराई, लुम्बिनी प्रेस क्लवका अध्यक्ष सम्झना शर्मा लगायतले मन्तब्य राखेका थिए । सिसासका उपाध्यक्ष सरु ज्ञवालीको स्वागत मन्तब्य र सचिव विष्णुप्रसाद गजुरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२३-०१-३० , समय : १९:१३:३१ , २ वर्ष अगाडि