नेमकिपा रुपन्देहीको प्रशिक्षण भेला सम्पन्न

जगी लाल थापा , २६०  पटक हेरिएको

बुटवल, माघ ९

नेपाल मजदुर किसान पार्टी रूपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले पश्चिमी संसदीय प्रजातन्त्रको परम्परा र नेपालकै प्रचलित कानुन अनुसार प्रतिनिधी सभामा नेपाल मजदुर किसान पार्टीलाई प्रमुख प्रतिपक्षी दल स्वीकार गर्नुको विकल्प नभएको बताउनु भयो । नेमकिपाको ४९ औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित प्रशिक्षणात्मक भेलामा अध्यक्ष वासीले प्रतिपक्षबिहीन संसद कल्पना गरेको हो भने संसदीय व्यवस्था असफल भएको घोषणा गर्न नेमकिपाले शासक दलहरूलाई हॉक दिएको उल्लेख गर्नु भयो ।

नेपाली राजनीतिक डबलीमा विभिन्न राजनीतिक दलहरू क्रियाशील रहेको अवस्था पनि २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टी स्थापना गर्नुको औचित्य र महत्त्व झन् झन् बढ्दै गएको चर्चा गर्दै अध्यक्ष वासीले नेपालको प्रजातान्त्रिक र कम्युनिष्ट आन्दोलनमा नेमकिपाको मौलिक र उल्लेखनीय योगदान रहेको स्पष्ट पार्नुभयो । नेमकिपाले मार्क्सवाद, लेनिनवाद र माओ विचारलाई मार्ग निर्देशक सिद्धान्त आत्मसाथ गर्दै व्यापक नेपाली जनतालाई सचेत र संगठित पारिरहेको बताउॅदै अध्यक्ष वासीले देशको स्वाधिनता र सार्वभौमसत्ताको लागि जनताको प्रजातन्त्र ल्याउनु पर्नेमा जोड दिनु भयो।

नेमकिपा रूपन्देहीका सचिव हिमलाल पाण्डेले कामदार वर्गको शासनसत्ता गर्न नेमकिपा संघर्षरत रहेको बताउनु भयो । नेपाल क्रान्तिकारी महिला संघका सुशीला पौडेलले महिलाहरूलाई शिक्षा र रोजगारीको बन्दोबस्त हुनुपर्नेमा जोड दिनुभयो ।नेपाल क्रान्तिकारी विद्यार्थी संघका माधव अधिकारीले लेनिनको जीवनीबाट कार्यकर्ताहरूले ऊर्जा प्राप्त गर्ने उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: २०२३-०१-२३ , समय : ०६:१२:२७ , २ वर्ष अगाडि