१६ औ बलिदानी दिवसको अवसरमा आज भैरहवामा दिप प्रज्वलन

उर्मिला यादव यात्री , ६११  पटक हेरिएको

भैरहवा , माघ ५

१६ औ बलिदानी दिवसको अवसरमा मदेशवादी युवा मोर्चाले आज भैरहवाको मिलनचोकमा दिपप्रज्वलन गरेको छ । युवा नेता प्रशान्त गुप्ता महेन्द्रको अगुवाइमा गरीएको दिपप्रज्वलन कार्यक्रममा बोल्दै गुप्ताले मदेशवादी दलले गर्दै आएको आन्दोलनको आज १६ बर्ष पुरा भएको र आन्दोलनमा सहिद भएका बिरहरुले गर्दा नै आज मदेशीहरुले आफनो अधिकार पाएको बताउनु भएको छ । उहाले मदेश आन्दोलनमा बिरगति प्राप्त गर्नु भएका बिरसहिदहरुको सम्झनामा हरेक बर्ष माघ ५ गते मदेशी युवाहरुले बिभिन्न कार्यक्रमहरु गरी बलिदानी दिवस मनाउने प्रतिबद्धता गर्नु भएको छ । युवा नेता गुप्ताले मदेशीहरुकोे आन्दोलन अझै पनि नसकिएको बताउदै देशको ब्यवस्थामा आफुहरुले माग गरेको आरक्षण कोटा अझै पनि नपाएको गुनासो गर्नु भयो । उहाले उच्च ओहदामा भएकाले मदेशीहरुको मागलाई सुनुवाई नगरेको बताउनु भयो । उहाले १६ औ बलिदानी दिवसलाई कुनै पनि राजनीतिक दलले चासो नदिएको दुखेसो पोख्नु भयो । बिरसहिदहरुको बलिदानीले उच्च ओहदामा पुगेका नेताहरुले नै आज बिरसहिदहरुको अपमान गरेकोले यसको हिसाबकिताब हुने उल्लेख गर्नु भयो ।

यस्तै गरी सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष उज्वल पोख्रेलले केन्द्रिय नेताहरु आन्दोलनको माध्यम बनाई सहिदहरुको सपना साकार बनाउने तिर नलागी पद र कुर्सीको लोभमा अल्झिएको बताउनु भएको छ । उहाले अव युवाहरुले नेताहरुलाई खबरदारी गर्नुपर्ने बताउनु भयो । नेताहरुको ब्यक्तिगत स्वार्थले गर्दा मदेश आन्दोलनको लक्ष्य प्राप्त गर्न नसकेको गुनासो गर्दै वडाध्यक्ष पोख्रेलले मदेशको आन्दोलन मार्फत उच्च ओहदामा पुगेका नेताहरुले सहिदहरुले देखाएको बाटो अवलम्बन गर्नुपर्ने जोड दिनु भयो ।

यस्तै गरी समाजसेवी तथा युवा नेता रबिकुमार रौनियारले सहिद न कुनै जात , न कुनै धर्म,न कुनै वर्ग समुदायको हुने बताउनु भएको छ । उहाले हरेक सहिद प्रति सबैको मनमा सच्चा श्रद्धा, सच्चा भावनाको ओतप्रोत हुनुपर्ने बताउनु भयो । नेता रौनियारले मदेश आन्दोलनमा ज्यानको आहुती दिने बिर सहिदहरुले गर्दा नै आज केही परिर्वतन र उपलब्धीहरु हासिल भएको बताउनु भएको छ । जुन उदेश्यले आज सहिदहरुले ज्यान गुमाएका छन अहिलेको अवस्था हेर्दा पनि सहिदहरुलाई पिडा भैरहेको रौनियारले भन्नु भयो । उहाले जसका लागी सहिदहरुले ज्यानको आहुति दिएका छन त्यो छिटटै पुरा होस भनि प्रार्थना गर्नु भएको छ ।

यस्तै गरी युवा नेता मोहम्मद अलीले बलिदानी दिवसलाई बिभिन्न पार्टीहरुले पार्टीगत रुपमा मनाउदै आएको गुनासो गर्नु भएको छ । उहाले शासक बर्गहरुले मदेशीहरुको एकतालाई टुक्रा टुक्रा गरेकोले मदेशीहरु आज बिभाजित भएको बताउनु भयो । उहाले आजको कार्यक्रम कुनै पार्टीगत रुपमा नभई मदेशी युवाहरु मिलेर गरेकाले खुसीको बिषय भएको बताउनु भएको छ । उहाले आगामी दिनमा यसरी नै मदेशीहरु मिलेर जानुपर्ने बताउदै जाति र बर्गको नाममा मदेशीबाट अलग नर्गन अनुरोध गर्नु भएको छ । उहाले मदेशमा बस्ने हामी सबै मदेशी भएकोले मदेशीको अधिकारको लागी एकजुट भई अगाडी बढनुपर्ने बताउनु भयो । कार्यक्रममा भैरहवाका मदेशी युवाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-०१-१९ , समय : २१:५२:३५ , २ वर्ष अगाडि