रुद्रपुर धमिनाताल सामुदायिक बन उपभोक्ता समूहको २१ औं उपभोक्ता भेला तथा ७ औ अधिवेशन

जगिलाल थापा , २७३  पटक हेरिएको

कञ्चन, पुस १९

श्री रुद्रपुर धमिनाताल सामुदायिक बन उपभोक्ता समूह कञ्चन ३ र ४ को २१ औं उपभोक्ता भेला तथा ७ औं अधिवेशन मंगलवार सम्पन्न भएको छ। उपभोक्ता भेलामा बोल्ने वक्ताहरुले बनबाट कञ्चनको समृद्धि गर्न सकिने तर त्यसको सही उपयोग र उपभोक्तामैत्री हुनु पर्नेमा जोड दिएका छन। भेलालाई सम्बोधन गर्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले सवल र समृद्ध कञ्चन निर्माण गर्न बनको दिगो बिकास र उपभोक्तामैत्री हुनु पर्नेमा जोड दिनु भएको छ। कञ्चन आफैमा प्राकृतिक श्रोत साधनले सुसम्पन्न एक स्थानीय तह भएपनि उचित ढंगले परिचालन र उपयोग गर्न नसक्दा आन्तरिक श्रोतबाटको आम्दानी निकै कम भएको उपाध्यक्ष थापा मगरले उल्लेख गर्नु भयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका उपाध्यक्ष थापा मगरले बनको संरक्षणका लागि बनको दिगो बिकास हुनु पर्ने र दिगो बनका लागि उपभोक्ताहरुले बन मेरो हो संरक्षण पनि मैले गर्नु पर्छ भन्ने भावनाको बिकास गर्न बनलाई उपभोक्तामैत्री बनाउन आग्रह गर्नु भयो।

कार्यक्रमका बिशिष्ट अतिथि तथा लुम्बिनी सव डिभिजन बन कार्यालय, ठाकुरापुरका सहायक बन अधिकृत रामाज्ञ शाहले बनको संरक्षण र सम्बर्द्धनमा उपभोक्ताहरुको सहभागितालाई जोड दिनु पर्ने उल्लेख गर्नु भयो। जसरी आफ्नो छोरीचेलीलाई पराई घरका जुवाईलाई बिश्वास गरेर जिम्मा दिइएको हुन्छ त्यसरी नै राज्यले राज्यको समपत्तीको रुपमा रहेको बनलाई समुदायलाई बिश्वास गरेर जिम्मा दिइएको हुन्छ भन्दै सहायक बन अधिकृत शाहले समुदायबाट बनको संरक्षण भन्दा अतिक्रमणमा बृद्धि भयो भने त्यो बन राज्यले आफै फिर्ता लिन सक्ने कुरा समेत बताउनु भयो। जव सम्म समुदाय आफै नै बन संरक्षण र बनको दिगो बिकास गर्ने तर्फ सचेत हुदैनन तव बनबाट प्राप्त हुने अक्सिजन, जडिबुटी, र जिवन निर्वाहका आधारहरु पनि समाप्त हुने सहायक बन अधिकृत शाले बताउनु भयो।

यसैगरी सामुदायिक बन उपभोक्ता महासंघ, रुपन्देहीका अध्यक्ष दिनानाथ आचार्यले समुदायले संरक्षण गरेको बनबाट समुदायका लागि हुनु पर्नेमा जोड दिनु भयो ।नेपालले हरियो बनको संरक्षण गरे वापत संयुक्त राष्ट्र संघ र विश्व बैकबाट अरबौंको अनुदान प्राप्त हुने उल्लेख गर्दै बिकसित मुलुकहरुले कार्वन उत्सर्जन गरे वापत ती मुलुकहरुले हर्जना स्वरुप विश्व बैंकमा रकम जम्मा गर्ने र त्यही रकम धेरै बन जंगल रहेका देशहरुलाई ती देशहरुले कार्वन संचित गरेको प्रतिशतको आधारमा रकम उपलब्ध गराउदै आएको महासंघका अध्यक्ष आचार्यले बताउनु भयो। नेपालमा करिब २२ हजार सामुदायिक बनहरु भएको ती सामुदायिक बनहरुले कार्वन सञ्चित गरे वापत नेपालले विश्व बैंकबाट कार्वन व्यापार को साढे ५ अर्व रुपैया प्राप्त गरेको अध्यक्ष आचार्यले बताउनु भयो। भएको रुख काटेर नभई बन भित्रै उपभोक्तामैत्री बिभिन्न जडीबुटी र आयमुलक बेसार खेती गर्ने योजना सञ्चालन गर्न सकेमात्र दिगो बन बिकास समेत हुने उल्लेख गर्दै अध्यक्ष आचार्यले नेपाल सरकारले रुपन्देहीका ४ स्थानीय तहमा समृद्धिका लागि बन कार्यक्रमका लागि बजेट पठाएको र तयसको उपयोग समृद्धिसंग जोडिएका उद्योग, कृषि बन, आयमुलक कार्यक्रम तथा दिगो बन बिकासमा खर्च गर्न सकिने प्रस्ट पार्नु भयो।
समूहको सातौं भेलाबाट आगामी तिन बर्षका लागि पार्वती घर्ति मगरको अध्यक्षतामा १५ सदस्यिय नयाँ उपभोक्ता समूह गठन गरेको छ। नयाा गठित समूहको उपाध्यक्षमा ठाकुर गौतम, सचिवमा नारायण प्रसाद न्यौपाने र कोषाध्यक्षमा जानका भट्टराईलाई सर्बसम्मत निर्वाचित गरेको छ। यसैगरी सहचिवमा यम बहादुर थापा र सदस्यहरुमा धनमाया थापा, जगी लाल थापा, छप बहादुर परियार, उमा थापा, फवन बहादुर क्षेत्री र नारायण ढकाललाई निर्वाचित गरेको छ। निर्वाचन समितिका संयोजक प्रकाश आचार्यका  अनुसार निर्वाचित समूहको बैठकले २ जना सदस्य मनोनित गर्नेछ भने २ जना सदस्यको वडा कार्यलयले सिफारिस गरेकाका प्रतिनीधिहरु पदेन सदस्य रहने छन।

भेलाले समूहका निवर्तामान अध्यक्ष जित बहादुर क्षेत्रीले प्रस्तुत गर्नु भएको समूहको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष खोप बहादुर मगरले प्रस्तुत गर्नु भएको समूहको आर्थिक प्रतिवेदन सर्बसम्मत अनुमोदन गरेको छ। भेलामा कञ्चन गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्री, नेपाली कांग्रेसका यम बहादुर क्षेत्री, सल्लाहकार भैरब बहादुर थापा, अस्नैया युवा क्लवका अध्यक्ष दुर्गा राजकोटी लगायतले सामुदायिक बनको संरक्षण र सम्बर्द्धनमा समूहको मात्र जिम्मेवारी नभई सम्पुर्ण उपभोक्ताहरुको उत्तिकै जिम्मेवारी र कर्तव्य भएको उल्लेख गर्नु भएको थियो। वक्ताहरुले समूहबाट सञ्चालन गरिने हरेक गतिबिधिहरु उपभोक्ता मैत्री हुनुको साथै पारदर्शितामा जोड दिएका थिए।
समूहका अध्यक्ष जितद बहादुर क्षेत्रीको अध्यक्षता, समूहका सहसचिव रत्न बहादुर क्षेत्रीको स्वागत तथा सचिव पार्वती घर्ति मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो। १३१.८३ हेक्टर बन क्षेत्रफल भएको रुद्रपुर धमिनाताल सामुदायिक बन उपभोक्ता समूहमा करिब १हजार ८ सय उपभोक्ता सदस्य रहेका छ्न।

प्रकाशित मिति: २०२३-०१-०३ , समय : २०:४०:५९ , २ वर्ष अगाडि