सरावलमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान” शुक्रबार सम्पन्न

रुपन्देही खबर , ९४४  पटक हेरिएको

नवलपरासी, मंसिर २३

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान” शुक्रबार सम्पन्न गरिएको छ । नवलपरासीको सरावल गाउँपालिकामा ‘सभ्य समाजकाे पहिचान , लैंगिक हिंसा विरुद्धको अभियान” भन्ने नाराका साथ एक कार्यक्रम गरि १६ दिने अभियान” सम्पन्न गरिएको हो ।

एबिसि नेपाल ,बेस नेपाल ,ब सुआहारा ,नेपाल रेडक्रस साेसाइटी नवलपरासी र असल छिमेकी संस्थाकाे समन्वयमा तथा सरावल गाउँपालिका महिला तथा बालबालिका शाखाकाे आयाेजनामा कार्यक्रम गरिएको हाे।

महिला सन्जालकी अध्यक्ष भिमकला भट्टराईकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बाेल्दै पालिका अध्यक्ष चाैधरीले हिसांलाई शुन्यमा झार्न नसके पनि यस्ता अभियानको माध्यमबाट न्युनिकरण गर्न सकिने बताउनु भएको छ । समाजमा महिला मात्र नभएर पुरुषहरु पनि हिसांमा परेका घटनाहरु आफुसामु आउने गरेको बताउनुभयो । यस्ता दिवसको प्रभावले पछिल्लो समय समाजमा लुकेका महिला हिंसा र बलात्कारका घटनाहरु बाहिर आउने गरेको र अभियानले गर्दा नै मानिसहरुमा जागरण आएको तथा त्यसबारे खुलेर बोल्न सक्ने भएको बताउनुभयो ।

लैंगिक रुपमा चाहे त्यो पुरुष होस् या महिला कसैलाई पनि यस्तो नहुनु पर्नेमा जोड दिनु भएको छ । पुरुषको तुलनामा महिला नै बढि घरेलु, लैंगिक, शारीरिक, पारिवारिक, मानसिक र सामाजिक लगायतका हिंसा खेप्दै आएको उहाको भनाइ छ । तर अब भने महिला चुलो चौकोमा मात्रै सिमित नरहेर शिक्षित भएर सरकारको हरेक तह तप्का सम्म पुगेर देश र समाजका लागि योगदान पु्याउन जरुरी रहेको समेत पालिका अध्यक्ष चाैधरीले बताउनुभयो । 

त्यस्तै उपाध्यक्ष बासमति हरिजनले लैंगिक हिंसा न्युनिकरणको लागि समाजमा सवै क्षेत्रको प्रतिवद्धता रहनु पर्ने बताउनु भयो । महिला प्रतिको सम्मान नै समाजको सम्मान हो भन्ने चेतनालाई गाउँ समाजमा जागरण गराउनु पर्ने आवश्यकता भएको उहाँको भनाई रहेको थियो । महिला हिंसाका घटनाहरुको न्युनिकरणका लागि महिलाहरुले आफ्नो क्षमतामा अभिवृद्धि गर्नु पर्ने बताउदै आफ्नो सीप ज्ञान अनुसारको काम गर्दै अगाडी वढेमा कोही कसैवाट हिंसा हुने कुरामा कमि आउने उहाँको भनाई रहेको थियो । हिंसा अन्त्यका लागि सबै क्षेत्रबाट सहयोगको आवश्यकता रहेको औंल्याउंदै हिंसा अन्तयको अभियानले तत्कालै नतिजा नदिएपनि विस्तारै यसको फलस्वरुप हिंसा न्यूनिकरणमा सरकार सफल हुने बताउनुभयो ।

त्यस्तै सरावल गाउँपालिका पुर्व अध्यक्ष राधेश्याम चाैधरीले समाजलाई कसरी अगाडि बढाउने भन्ने जिम्मा त्यो समाजका अगुवाहरुको हातमा हुने र त्यहि अनुसार नै समाज परिवर्तन हुने बताउनु भएको छ । लैङ्गिक हिंसाको जड नै समाज भएकाले समाज परिवर्तनका लागि यस्ता दिवस आवश्यक भएको पनि पुर्व अध्यक्ष चाैधरीले बताउनु भयो । हाम्रो समाजमा कमजोर वर्गलाई दवाउने प्रवृति र लिंगकै आधारमा धेरै किसिमका हिंसाहरु हुने भएकाले हिंसा गर्ने छुट कसैलाई पनि नभएको जिकिर गर्नु भयो । साथै उहांले महिलाहरुका लागि शिप, तालिम जस्ता कार्यक्रम प्रदान गर्ने र महिलाहरुले पनि आत्मनिर्भरको बाटो अपनाउन कोशिस गरेमा हिंसा रोक्न सकिने बताउनुभयो ।

त्यस्तै एबिसि नेपालको क्षेत्रीय प्रमुख मनाेज लामिछानेले हिंसा न्यूनीकरणका लागि चेतनाको आवश्यकता रहेको भनाई राख्नुभयो ।उहाले हिंसा मुक्त समाज निर्माणका लागि विद्यालयहरुमा पाठ्यक्रममै समावेश गरेर विद्यार्थीहरुलाई त्यसका बारेमा जानकारी दिन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा एविसि नेपाल क्षेत्रीय प्रमुख मनाेज लामिछाने , नेपाल रेडक्रस साेसाइटी नवलपरासीको सभापति राजेन्द्र अग्रहरी , अधिवक्ता सरस्वती शर्मा , नर्वेको क्लारा , राष्ट्रिय दैनिकका कार्यकारी निर्देशक उमेश बि.क , कवि हरिलाल यादव लगायतले कार्यक्रममा शुभकामना मन्तब्य राखेको कार्यक्रमकाे सन्चालन सरावल गाउँपालिका महिला तथा बालबालिकाशाखा प्रमुख खेम खनालले गर्नुभएको थियोे ।

प्रकाशित मिति: २०२२-१२-०९ , समय : १९:५१:१३ , २ वर्ष अगाडि