रुपन्देही खबर , ३०८ पटक हेरिएको
काठमाडाैँ, मंसिर २२
विश्वकप लिग टू क्रिकेट अन्तर्गत त्रिदेशीय श्रृङ्खलाको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । नामिबियामा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग ८ विकेटले पराजित भएको हाे ।
१ सय २० रनको सामान्य लक्ष्य स्कटल्यान्डले मात्र २ विकेट गुमाएर १७ औँ ओभरमै पुरा गर्यो । स्कटल्यान्डका क्रिस्टोफर म्याकब्रिडले अविजित ४६ र जर्ज मुन्सीले ४५ रन बनाउनुभयो । नेपालका गुल्सन झा र दिपेन्द्रसिंह ऐरीले एक एक विकेट लिनुभयो ।
नामिबियामा टस हारेर पहिले ब्याटिङ रोजेको नेपाल खराब प्रदर्शन गर्दै ३४ औँ ओभरमा मात्र ११९ रनमा अल आउट भएको थियो ।
कप्तान रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए पनि ७ जना ब्याटरले दोहोरो अंकमा रन जोड्न नसक्दा नेपालका लागि जारी शृंखला विर्सन लायक रह्यो । यो पराजयसँगै नेपाल शिर्ष २ मा रहँदै विश्वकपमा छनोट हुने सम्भावना कम भएको छ । एक दिवसीय मान्यता जोगाइराख्न नेपालले अब खेल्न बाँकी १२ मध्ये कम्तीमा ९ खेल जित्नुपर्छ ।
प्रकाशित मिति: २०२२-१२-०८ , समय : २०:३६:०९ , २ वर्ष अगाडि