रुपन्देही खबर , ४०७ पटक हेरिएको
भैरहवा, मंसिर १५
उद्योगी–व्यवसायीहरुले आर्थिक क्षेत्रलाई चलायमान बनाउन मेला–महोत्सवको भूमिका महत्वपूर्ण हुने बताएका छन् । उनीहरुले कोरोना महामारीले थला परेको व्यापार–व्यवसायलाई माथि उकास्न पनि मेला–महोत्सव आयोजना गर्न जरुरी रहेको औल्याएका छ्न ।
बिहीबार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले आयोजना गर्न लागेको लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ को सचिवालय उद्घाटनमा बोल्दै उद्योगी–व्यवसायीले अहिलेको विषम् परिस्थितिमा मेला–महोत्सवको भूमिका अझै बढेको बताएका छ्न ।
नेपाल उद्योग बाणिज्य महासंघ, लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले यस क्षेत्रको आर्थिक विकासका लागि सिद्धार्थ उद्योग वाणिज्य संघले विगतदेखि नै निरन्तर मेला–महोत्सव आयोजना लगायत व्यवसाय प्रबद्र्धनका विभिन्न क्रियाकलाप गरेर भूमिका निर्वाह गर्दै आएको बताउनु भएको छ ।
उहाले आयोजक एउटा संस्था भए पनि भैरहवामा लाग्न लागेको महोत्सव सबैको साझा भएकाले यसको अपनत्व सबै राजनीतिक दल, निजी क्षेत्र, उद्योगी–व्यवसायी, नागरिक समाज, तीन तहका सरकार र आम रुपन्देहीबासीले लिनुपर्ने बताउनु भएको छ । शर्माले बेलहिया नाकाबाट भित्रिने भारतीय तथा तेस्रो मुलुकका पर्यटकलाई पनि मेलास्थलसम्म ल्याउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनु भएको छ ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले अहिलेको अवस्था निकै जटिल भए पनि मेला सफल पार्न सबै क्षेत्रको सहयोग जरुरी रहेको बताउनु भएको छ ।
संघका पूर्वअध्यक्ष रामशंकर कान्दुले महोत्सवले उद्योग–व्यवसाय, कृषि, पर्यटन लगायत समग्र आर्थिक क्षेत्रको दिगो विकासमा केही न केही कोशेढुंगा सावित हुने जनाउँदै प्रचारप्रसारलाई व्यापकता दिनुपर्ने बताउनु भएको छ । उहाले महोत्सवले भैरहवाको आर्थिक विकाससँगै यहाँको गरिमालाई उच्च राख्ने बताउनु भएको छ ।
संघका पूर्वअध्यक्षहरु विष्णु प्रसाद शर्मा, कुल प्रसाद न्यौपाने, रामकुमार शर्मा, संघका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ, महासचिव विजय पाण्डे लगायतले बोल्दै ग्रामीण क्षेत्रमा पनि प्रचारप्रसारलाई प्राथमिकता दिनुपर्ने, मेला सफल बनाउन सबै एकजुट हुनुपर्ने, भैरहवाको परिवेशअनुसारका सांस्कृतिक कार्यक्रम र स्टलहरु राख्नुपर्ने, नौला र दर्शक आकर्षित हुने कार्यक्रमहरु ल्याउनुपर्ने बताउनु भएको छ । उनीहरुले विगतमा भएका मेलाहरुबाट पाठ सिकेर यसपटक पनि मेला सफल पार्न लाग्नुपर्नेमा जोड दिनु भएको छ । मेला भैरहवा क्षेत्रको आर्थिक विकास र बजार चलायमान बनाउनका लागि महत्वपूर्ण कडी भएकाले सबैले भव्य र सभ्य बनाउन लाग्नुपर्नेमा जोड दिनु भएको छ ।
संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले आर्थिक मन्दीका बीच मेलालाई सफल र भव्य बनाउन संघले सक्दो प्रयास गरिरहेको बताउनु भएको छ । न्यौपानेले, कृषि, उद्योग, पर्यटन, खेलकुद, कला संस्कृति, प्रविधि लगायतका क्षेत्रलाई समेटेर मेलामा स्टलहरु राखिने र यी क्षेत्रको प्रबद्र्धनमा विशेष जोड दिने बताउनु भएको छ ।
भैरहवास्थित अञ्चलपुरमा आगामी मंसिर २३ गतेदेखि पुस ४ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा विभिन्न उत्पादनका गरी २ सय ५० स्टलहरु रहने आयोजकले जनाएको छ । मेलास्थलमा अहिले संरचना निर्माणको काम भइरहेको छ । त्यस्तै मेलामा धेरै भन्दा धेरै दर्शक ल्याउन प्रचारप्रसारका कामलाई पनि तीव्रता दिइएको प्रचारप्रसार समिति संयोजक कृष्ण प्रसाद घिमिरेले बताउनु भएको छ । संघले बिहीबारदेखि मेलाका सम्पूर्ण काम मेलास्थलबाट सञ्चालन गर्ने जनाएको छ । मेलास्थलमा सचिवालय सञ्चालन आएसँगै सबै काम यहीबाट हुने घिमिरेले बताउनु भयो । संघले आयोजना गरेको महोत्सव आठौं संस्करण हो । यसअघि सात पटकसम्म संघले सफलतापूर्वक महोत्सव सम्पन्न गरिसकेको छ ।
प्रकाशित मिति: २०२२-१२-०१ , समय : १७:०९:३४ , २ वर्ष अगाडि