रुपन्देहीको विकासमा दीर्घकालीन योजना ल्याएको गृहमन्त्री खाँणको भनाइ

रुपन्देही खबर , २२२  पटक हेरिएको

भैरहवा, कार्तिक २७

गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको शिक्षा, स्वास्थ्य, सडक, पुल, सिंचाई लगायत जिल्लाको समग्र विकासका लागि आफूले विगतमा दीर्घकालीन महत्वका योजनाहरु ल्याएको दावी गर्नु भएको छ । उहाले तिनाउ र दानवमा जनताको तटबन्धन, पुल निमार्ण, सोह्र–छत्तीस सिंचाई प्रणाली निमार्णको काम आफ्नै पहलमा भएको र यसले जिल्लाको सिंचाईमा फड्को मारेको जिकिर गर्नु भएको छ ।

पाँचदलीय गठबन्धनद्वारा क्षेत्रका विभिन्न स्थानमा आयोजित कार्यक्रमहरुमा बोल्दै पाँच दलीय गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार समेत रहनु भएको कांग्रेसका केन्द्रीय सदस्य खाँणले बेलहिया–बुटवल ब्यापारिक मार्ग, गौतमबुद्ध विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने, देवदह– मणिग्राम–लुम्बिनी बुद्धसर्किट निमार्ण गरी बीचका बस्तीलाई गुल्जार बनाउनमा पनि आफूले महत्वपूुर्ण भूमिका खेलेको बताउनु भएको छ ।

व्यापारिक मार्ग बिस्तारको क्रममा अधुुरो रहेको काम पनि छिट्टै पुरा गर्ने उहाले प्रतिबद्धता व्यक्त गर्नु भएको छ । भैरहवामा विमानस्थल बनाउन र भैरहवामा विशेष आर्थिक क्षेत्र (सेज) ल्याउनमा कांग्रेस नेता स्वर्गीय रामकृष्ण ताम्राकारको पनि महत्वपूर्ण भूमिका रहेको भन्दै उहाको प्रशंसा समेत गर्नु भएको थियो । उहाले रुपन्देही, भैरहवा क्षेत्रको विकासमा आफू र स्वर्गीय ताम्राकारबीच सधै सहकार्य हुने गरेको पनि बताउनु भएको छ ।

त्यस्तै  देवदह–मणिग्राम– लुम्बिनी– तिलौराकोट– गोरुसिंगे, बेलवास– बेथरी, तामनगर–फर्सटिकट हुँदै  बेथरी– मर्चवार सडक, भैरहवादेखि नवलपरासीको  भूमही, केदली– सिसुवा, मुर्गिया– सूर्यपुरा, देवदह– मणिग्राम–फर्साटिकर–सूर्यपुरा–लुम्बिनी, छपिया– बेथरी सडक निर्माण एवम स्तरोन्नती गर्न पनि पहल गरेको उहाले बताउनु भएको छ ।

त्यस्तै, आफुू शिक्षा राज्यमन्त्री हुँदा माध्यमिक शिक्षा सहयोग कार्यक्रम अन्तर्गत  रुपन्देही जिल्लाका १५ वटा विद्यालयको भौतिक सुधार गरेको उल्लेख गर्दै उहाले सिद्धार्थ गौतम बुद्ध क्याम्पसको स्थापना, पक्लिहवा कृषि क्याम्पसको स्तरोन्नती, दुधनाथ थारु यज्ञोदय बहुमुखी क्याम्पसको स्तरवृद्धि एवं स्कुल बसको व्यवस्थापन, खड्ग बनगाई मावि, भगलापुर माबि, मानपकडी जनता माबि, अमुवाको भौतिक बिस्तार एवम् शैक्षिक सुधार, नवरत्न माबि, सेमलार प्राविधिक धार स्थापना र सिसै माबि खड्ग बनगाई भवन निर्माण, जनता मावि र विरेन्द्र मावि छपियामा भवन निर्माण जस्ता काम गरेको बताउनु भएको छ ।

उहाले अहिले पक्लिहवा माबिलाई बस खरिद, नवरत्न मावि बुटवलको खेलमैदान निर्माण, जनता आधारभूत मायादेवीको भवन निमार्ण, त्रिवेणी आधारभूत विद्यालय सियारी गोठवामा खेलमैदान निर्माणको लागि पनि बजेट बिनियोजन भएको जानकारी दिनु भएको छ ।  बहिरा बाल विद्यालय भैरहवाको भवन निमार्ण, सियारीको मदनगन्ज आधारभूत विद्यालय स्तरोन्नती, तिलोत्तमा नगरपालिका टिकुलीगढमा दुर्गा वेदवेदङ्ग संस्कृत विद्यालय पूर्वाधार विकास, शुद्धोधन खजुरीया आधारभूत विद्यालय कक्षाकोठा निर्माण, शुद्धोधनकै वेलवा आधारभूत विद्यालय भौतिक पूर्वाधआरको लागि पनि बजेट बिनियोजन भएको बताउनु भयो ।

यसै आर्थिक बर्षमा काम गर्ने गरी फर्साटिकर मावि, बनगाई मावि, जनचेतना आधारभूत विद्यालय, कोटही निमाविको पर्खाल निर्माण तथा फुलबारी व्यवस्थापन, मैनहिया माविको खाजा घर निर्माण बजेट विनियोजन भएको बताउँदै सियारीको दुर्गादेवी निमावि र बेलहिया माविको भौतिक पूर्वाधार निर्माण भएको बताउनु भएको छ ।

त्यस्तै सिचाई मन्त्री हुँदा जनताको तटबन्ध र स्यालो ट्युवबेल निर्माणको काम सुुरु गरेको बताउँदै उहाले छतिस मौजा सिंचाई नहरको रिटेनिङ पर्खाल निर्माण, जिल्लाका बिभिन्न तालहरुको संरक्षण कार्य–बैठौलिया, कुन्जलापुर, सूर्यपुरा ताल संरक्षण, गडुवा ताल सिचाई योजना, चारतपाहा सिंचाई योजनाको मुहान निर्माण, मर्चवार लिफ्ट सिँचाई योजनाको थप कार्य, ईङगुरिया, कन्चन सिंचाई कार्य थालनी पनि आफ्नै पहलमा भएको बताउनु भएको छ । रुपन्देहीलाई अझ विकसित र समुन्नत बनाउन आफूले थुुप्रै योजना ल्याएको र त्यसलाई साकार पार्न जनताको साथ जरुरी रहेको बताउनु भयो ।

प्रकाशित मिति: २०२२-११-१३ , समय : १८:२८:४१ , २ वर्ष अगाडि