बहस कार्यक्रममा कार्यकर्ताबीच विवाद हुदा एक जना घाइते

घाइतेलाइ १७ टाका लगाइयो

मोहम्मद हबिब , ३५४  पटक हेरिएको

भैरहवा, कार्तिक १९

रुपन्देहीको सम्मरीमाई ५ रोइनिहवामा भएको बहस कार्यक्रममा कार्यकर्ताबीच विवाद हुदा एक जना घाइते भएका छन ।

प्राइम टेलिभिजनले निर्वाचनलाई लक्षित गर्दै आएको मंसिर ४ महासंग्राम कार्यक्रममा उपस्थित दर्शकहरु बीच विवाद हुदा लालविहारी माविका प्राचार्य मुरलीधर शुक्लाको ओठमा इट्टाले चोट लागेको हो । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत प्रतिनिधि सभाका ४ प्रमुख प्रतिस्पधीहरुसँग स्थानीय र समर्थकलाई राखेर भएको बहस कार्यक्रममा उम्मेदवारले बोल्दै गर्दा होहल्ला भई कुर्सी हानहान र ढुङगा प्रहार भएको थियो ।

सोही क्रममा शुक्ला घाइते भएका हुन भने केहीलाई सामान्य चोट लागेको लोकतान्त्रिक समाजवादी नेपाल पार्टीका लुम्बिनी प्रदेश कार्यकारी सदस्य सन्दिप त्रिपाठीले जानकारी दिनु भएको छ । घाइते शुक्लाको ओठमा १७ वटा टाका लगाइएको छ ,उहाको उपचार भैरहवा स्थित भिम अस्पतालमा भइरहेको त्रिपाठीले बताउनु भएको छ ।

संचारकर्मी ऋषी धमलाले संचालन गरिरहेको कार्यक्रममा त्यस क्षेत्रका उम्मेदवारहरु नेपाली कांग्रेसका प्रमोद यादव, लोसपाका सवेन्द्रनाथ शुक्ला, जनमतका भोपेन्द्र यादव र जसपाका ओमप्रकाश यादव गुल्जारी उपस्थित थिए । एक चरणमा सबै उम्मेदवारले भनाई राखेपछि दोस्रो चरणमा भनाई राख्ने क्रममा कार्यकर्ता बिच काम गरेको हो होइन भन्ने विषयमा भनाभन भएपछि विवादीत हुन पुगेको हो ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले सामान्य कुर्सी हानहान भएको रिर्पोट आएपनि घाइतेको सम्बन्धमा राती ८ बजे सम्म केही रिर्पोट नआएको बताउनु भएको छ ।

प्रकाशित मिति: २०२२-११-०५ , समय : ०२:२५:४५ , २ वर्ष अगाडि