आज हरिबोधनी एकादशी पर्व,तुलसीको बिवाह गरि मनाइँदै

रुपन्देही खबर , २६४  पटक हेरिएको

भैरहवा, कार्तिक १८

आज (शुक्रबार) कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व मनाइँदै छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको छ । 

हरिबोधनीका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ । सोहीअनुसार शुक्रबार आज बिहानैदेखि रुपन्देही को नारायण स्थान मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।

एकादशीहरूमा सबैभन्दा ठूलो हरिबोधिनी एकादशीलाई मानिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् । अशाढ शुक्ल एकादशीको दिन भगवान विष्णु सुतेर कात्तिक शुक्ल एकादशीका दिन उठ्ने विश्वास गरिन्छ । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य गर्न नहुने मान्यता छ ।  

हरिबोधिनी एकादशीका दिन भगवान विष्णुले माता तुलसीको प्रार्थना सुनेको र यसै प्रार्थनाको प्रभावले निन्द्राबाट ब्यूँझिएको धार्मिक कथन छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको हो 

हरिबोधिनी एकादशीका दिन घर घरमा पूजा गर्दै आएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर विवाह गरिने चलन छ ।

तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने धार्मिक विश्वास छ । तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ । आजको दिन भगवान् विष्णुको भजनकीर्तन गर्दै रातभर जाग्राम बस्ने चलन छ । यसरी गरिएको पूजा आराधनाबाट सुख, समृद्धि र सबै प्रकारको मनोकामना प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

प्रकाशित मिति: २०२२-११-०४ , समय : १२:५५:४६ , २ वर्ष अगाडि