रुपन्देही खबर , ३८४ पटक हेरिएको
भैरहवा, कार्तिक, १४
तराई लगायत नेपालभर लोक आस्थाको पर्व छठ आज बिहान उदाउँदा सूर्यलाई अर्घ दिँदै सम्पन्न गरिएको छ ।
पञ्चमी तिथिका दिन मङ्गलबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका ब्रतालुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन् । छठमा षष्टी तिथिमा निराहार व्रत गरिन्छ । आज बिहान ६ बजेर १४ मिनेट सूर्योदय भएको छ।
आज बिहान मौसम सफा भएको हुँदा छठका ब्रतालुले झलमल्ल पारिला घाम उदाएको देखेपछि अर्घ दिएर छठ पर्व सम्पन्न गरेका हुन् ।
पञ्चमीका दिन पनि दिनभरि निराहार उपवास बसेका बर्तालुले राति सख्खरमा पकाइएको खीर मात्र खाएका थिए । बर्तालुले पञ्चमीको ‘खरना’ विधियता लगातार करिब ३६ घण्टाको निराहार व्रतपछि आज बिहान उदाउँदा सूर्यलाई अर्घ दिँदै ‘भोरका अरख’ सम्पन्न गरेका हुन् ।
‘भोरका अरख’ गरिएसँगै छठ पर्व समापन हुन्छ । यसपटक गत शुक्रबार कात्तिक शुक्ल त्रितीया र चौथी एकै दिन परेको थियो । बर्तालुले सोही दिन व्रत सङ्कल्प गर्दै ‘अरबाअरबाइन’ र ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका थिए । यसैगरी छठमा बर्तालुले पञ्चमीका दिन ‘खरना’ र षष्ठी तिथिका दिन आइतबार निराहार व्रतकै बीच साँझपख अस्ताउँदा सूर्यलाई पहिलो अर्घ दिँदै ‘सझुका अरख’ सम्पन्न गरेका थिए ।
आज बिहान अर्घ दिएसँगै सूर्य उपासनाको महापर्व सम्पन्न गरी बर्तालु इष्टजनसहित छठी घाटबाट घर फर्केका छन् । पर्व सकिएसँगै घरघरै प्रसाद खाने/खुवाउने क्रम सुरु भएको छ । तराईमा छठको प्रसाद मानिने ठकुवा (गहुँको पिठो सख्खरमा मुछेर घ्युमा पकाइएको मिष्टान्न परिकार) विवाहित छोरी/चेली (छोरी, दिदीबहिनी, फूपू), मित/मितिनी र अन्य इष्टजनको घर पठाउने मैथिल परम्परा छ ।
तराईमा दुई साताभन्दा बढी चल्ने यो क्रमलाई ‘छठके सनेस’ (छठको कोसेली) भनिन्छ । यसरी पठाइने कोसेली नयाँ पकाइए पनि छठमा सूर्यलाई देखाइएको मध्ये केही मिसाएर ‘सनेस’ बनाइन्छ ।
केही दशकअघि तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब नेपालको सन्दर्भमा राष्ट्रिय पर्व नै बनेको छ । लुम्बिनी प्रदेश लगायत,मुलुकको राजधानी काठमाडौँ, गण्डकी प्रदेशको राजधानी पोखरासहित विभिन्न ठाउँमा केही वर्षयता उल्लासमय छठ मनाइँदै आइएको छ । पहाड, मधेसको सांस्कृतिक घुलमिलले छठ पर्वमात्र नभएर अन्य धेरै चाडपर्व साझा बन्दै गएका छन् । राष्ट्रिय एकताको भावना अझ मजबुद बन्न÷बनाउन यसले मद्दत गरेको मैथिल बुद्धिजीवी बताउँछन् ।
प्रकाशित मिति: २०२२-१०-३१ , समय : ०९:३३:३३ , २ वर्ष अगाडि