रुपन्देही खबर , ३६७ पटक हेरिएको
भैरहवा, कार्तिक ६
रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा कुस्ती (दंगल) प्रतियोगिता हुने भएको छ । तराई–मधेशको लोकप्रिय खेलको रुपमा रहेको कुस्तीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताउनु भएको छ । कुस्ती खेललाई लोप हुन नदिन प्रतियोगिताको आयोजना गर्न लागिएको उहाले जानकारी दिनु भयो ।
रोहिणी गाउँपालिकाको आयोजनामा यही कात्तिक १५ र १६ गते श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेलमैदानमा उक्त प्रतियोगिता हुने गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले बताउनु भयो । युवाहरुलाई प्रोत्साहन र प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले गाउँपालिकाले पाँच लाख रुपैयाँ बजेट बिनियोजन गरी प्रतियोगिता गर्न लागेको क्षेत्रीले बताउनु भएको छ । प्रतियोगितामा प्रथम हुनेलाई रु. १ लाख १ हजार १ सय ११, द्वितीय हुनेलाई ५० हजार ५ सय ५५, तृतीयलाई २५ हजार २ सय २५ र सान्तत्वनालाई १५ हजार १ सय २५ रुपैयाँ प्रदान गरिने उहाले जानकारी दिनु भयो । उहाले भन्नु भयो,‘निर्णायकको निर्णयअनुसार पहलमानहरुलाई प्रोत्साहन वापत साइकल र टेलिभिजनको व्यवस्था गरिनेछ ।’
प्रतियोगितामा नेपाल र भारतबाट गरी २५ जना बढी पहलमानको सहभागीता रहने उहाले बताउनु भयो । त्यस्तै १०/१५ हजार बढी दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको प्रवक्ता क्षेत्रीले बताउनु भएको छ ।
रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले गाउँपालिकाले कुस्तीसहित अन्य खेलको संरक्षणका लागि बजेट बिनियोजन गरेको बताउनु भएको छ । उहाले आगामी दिनमा पनि कुस्ती लगायत अन्य खेलकुद प्रतियोगिता सञ्चालन गरिने बताउनु भयो । उहाले भन्नु भयो , ‘खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिका अघि बढेको छ ।’
प्रतियोगितामा प्रवेश निःशुल्कको व्यवस्था रहेको गाउँपालिकाका योजना शाखा प्रमुख राजकुमार मिश्राले बताउनु भएको छ ।
प्रकाशित मिति: २०२२-१०-२३ , समय : ०६:३३:३५ , २ वर्ष अगाडि