पाँचदलीय गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न नहुने पूर्व गृहमन्त्री थापा

रुपन्देही खबर , २१८  पटक हेरिएको

भैरहवा, कात्तिक ५

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले उद्योगी–व्यवसायीले पाँचदलीय गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न नहुने बताउनु भएको छ । उहाले अहिले बैंक ब्याजदर निरन्तर बढिरहेको र त्यसबाट उद्योगी व्यवसायी मारमा परेकाले पाँचदलीय गठबन्धनलाई भोट दिनुको औचित्य नरहेको बताउनु भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एमाले) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ संयुक्त प्रचार प्रसार कार्यालयको शुक्रबार गल्लामण्डीमा भएको उद्घाटन कार्यक्रममा बोल्दै पूर्व गृहमन्त्री थापाले सरकारमा आबद्ध दलका उम्मेदवार उद्योगी–व्यवसायीको घरदैलोमा पुगिरहँदा उद्योगी–व्यवसायीले भने सडकमा आन्दोलन गर्नुपरेको बताउनु भएको छ । उहाले भन्नु भयो ‘उद्योगी–व्यवसायीले पाँचदलीय गठबन्धनका उम्मेदवारलाई मत दिनु भनेको बढ्दो बैंक ब्याजदरलाई समर्थन गर्नु जस्तै हो ।’ सरकारले बैंक ब्याजदर घटाउन कुनै कदम नचालेको उहाले आरोप लगाउनु भयो ।

मुुलुक आर्थिक संकटमा परेकाले उद्योगी व्यवसायीले पाँचदलीय गठबन्धनका उम्मेदवारलाई किन भोट दिने भन्दै उहाले प्रश्न गर्नु भयो ।अहिले पाँचदलीय गठबन्धनका उम्मेदवारले जनतालाई झुटो आश्वासन दिइरहेको उहाको भनाइ छ । नेता थापाले वर्तमान सरकारका गृहमन्त्री तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालकृष्ण खाँणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीयलाई रोजगारीमा प्राथमिकतामा दिने कुरा बताएसँगै नियमित उडान सञ्चालन गरेको जजिरा एअरलायन्सले हवाइ उडान समेत कटौती गरेको बताउनु भयो । उहाले भन्नु भयो, ‘नियमित उडान सञ्चालन भए पो रोजगारीको अवसर सिर्जना हुन्छ, हवाइजहाज उड्न नसकेको अवस्थामा कसरी विमानस्थलमा रोजगारी सिर्जना हुन्छ ।’ थापाले पूर्वमन्त्री तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहरालाई जनताको समर्थन रहेको दावी गर्नु भयो । २०७४ सालमा नेता बोहरालाई विश्वास गरेको नेपाली कांग्रेसले अहिले बोहरा उपयुक्त उम्मेदवार होइन भन्नुको अर्थ नरहेको थापाको भनाइ छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि फ्रि भिसाको प्रलोभन नभइ स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने बताउनु भयो। मुलुकको आवश्यकता अनुसार राप्रपा, एमाले र जसपाबीच तालमेल भएको उहाले बताउनु भएको छ ।

त्यस्तै जसपाका केन्द्रीय सदस्य तथा प्रदेशसभा क्षेत्र नम्बर ३ (ख)का उम्मेदवार महेन्द्र यादवले आफूहरुले निर्वाचन जितिसकेको र औपचारिकता दिन मात्र बाँकी रहेको बताउनु भएको छ । स्थानीय तहको निर्वाचनको मतपरिणामले राप्रपा, एमाले र जसपाको जीत सुनिश्चित रहेको देखाइसकेको उहाले दावी गर्नु भयो ।

एमाले रुपन्देहीका उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीले पाँचदलीय गठबन्धन बिचलित भएको बताउनु भएको छ । उहाले परमादेशबाट बनेको वर्तमान सरकारले मुलुकमा विकास र समृद्धि नचाहेको बताउनु भयो ।

राप्रपा रुपन्देहीका प्रवक्ता दिलिप कुमार मल्लिकले दीपक बोहराले गरेको कामको मुल्यांकन जनताले अवश्य नै गर्ने बताउनु भयो । एमाले सिद्धार्थनगर ६ का अध्यक्ष राम दयाल गुप्ताले पाँचदलीय गठबन्धनका कारण मुलुक संकटमा परेको बताउनु भएको छ । उहाले रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक बोहरा, प्रदेशसभा सदस्य ३ (क)का उम्मेदवार महेन्द्र यादव र ३ (ख)का उम्मेदवार तुल्सी प्रसाद चौधरीलाई अत्याधिक मतले जिताउनुपर्ने बताउनु भयो ।

कार्यक्रममा राप्रपाका वरिष्ठ नेता दीपक बोहराको प्रमुख आतिथ्यता रहेको थियो भने, राप्रपा रुपन्देही जिल्ला प्रवक्ता दिलिप कुमार मल्लिक, नेकपा एमाले सिद्धार्थनगर–६ का सचिव मदन पौडेल लगायतले मन्तब्य राख्नु भएको थियो

प्रकाशित मिति: २०२२-१०-२२ , समय : ००:१२:३५ , २ वर्ष अगाडि