मर्चवारमा युवकद्वारा एक महिलालाई कुटपिट गरी हत्या गर्ने प्रयास

ज्ञानेश्वर उपाध्याय , ५३२  पटक हेरिएको

मर्चवार, असोज २४

गत विहिवार मर्चवारमा एक युवकले बृद्ध महिलालाई कुटपिट गरी हत्या गर्ने प्रयास गरेका छन् । कोटहीमाई गाँउपापलिका–४ कदमहवा निवासी २२ वर्षीय गोविन्द चौधरीले सोही गाँउकी ६५ वर्षीय गुड्डिन कुर्मीलाई कुटपिट गरी हत्या गर्ने प्रयास गरेका हुन ।

बृद्धालाई बचाउने क्रममा परिवारका अन्य सदस्यलाई समेत चोट लागेको पिडित परिवारले जनाएको छ । घटनामा पिडितका छोरा रामअवध कुर्मी र बुहारी कुलमति कुर्मी समेत घाइते भएका छन् । गोविन्द चौधरीले रक्सी खाएको बेलामा व्यक्तिगत प्रतिशोधका कारण कुर्मीमाथि उनकै घरमा नियोजित तरीकाले प्रवेश गरी लठ्ठी सहित घरेलु हतियारले प्रहार गरेका हुन् ।

घाइते कुर्मीलाई टाउको, घाँटी पेट लगायतका स्थानमा गम्भीर चोट लागेको अस्पतालले जनाएको छ । घाइते कुर्मीको मर्सी सिटी अस्पताल बुटवलमा हालसम्म उपचार भइरहेको इलाका प्रहरी कार्यालय मझगाँवाका प्रहरी निरिक्षक पंकज चुँदालीले जानकारी दिनु भएको छ । घाइते कुर्मीको टाउकोमा गम्भिर चोट लागेको र आईसियूमा राखी उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

हत्याको प्रयास गर्ने चौधरीलाई ईप्रका बिचौवापुरमा थुनुवामा राखि ज्यानमारा उद्योगको मुद्दा चलाइरहेको इप्रका मझगावांले बताएको छ । हत्याको प्रयास गर्ने गोबिन्द चौधरीलाई हाल ईलाका प्रहरी कार्यालय बिचौवापुरमा राखी २५ दिन सम्म अनुसन्धान गरिने प्रहरी निरिक्षक तेज बहादुर खत्रिले बताउनु भएको छ ।

पिडित रामअवध कुर्मीले हत्या गर्ने गरी कुटपिट गर्ने गोविन्द चौधरीले आफू र आफ्नो परिवारमाथि यस अघि पनि अनायासमा निहुँ खोजी गाली गलौज र झै–झगडा गरे पनि आफू उक्त व्यक्तिबाट टाढा रहँदै आएको बताउनु भएको छ । पछिल्लो पटक ज्यानमारा हमला गरेकोले निजलाई कानून अनुसारको हदैसम्मको कार्यवाहीका लागि मानव अधिकार कर्मी र सरोकारवालाले आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति: २०२२-१०-१० , समय : २०:५४:५० , २ वर्ष अगाडि