नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी

रुपन्देही खबर , ३४३  पटक हेरिएको

असोज २४

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पहिलो पटक महिला क्रिकेट खेलेको पुलिसले कर्णाली प्रदेशलाई डीएल मेथडमा ६३ रनले पराजित गरेको हो ।

पोखरा रंगशालामा आज भएको पहिलो खेलमा कर्णालीले पुलिसबाट ८१ रनको नयाँ लक्ष्य पाएको थियो । पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित १६ ओभरमा ६ विकेट गुमाएर ११० रन बनाएको थियो ।

त्यसपछि पनि खेल प्रभावित भएपछि कर्णालीले १०.२ ओभरमा ८१ रनको नयाँ लक्ष्य पायो । उक्त लक्ष्य पछ्याएको कर्णालीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १७ रनमात्रै बनाउन सक्यो ।

कर्णालीका लागि दिक्षा पुणले सर्वाधिक ७ रन बनाउँदा डिभ्या धामीले ३ रनको योगदान गरिन् । यी दुवै खेलाडी नटआउट रहे । ५ जना खेलाडीले खाता खोल्न सकेनन् भने दीपशिखा विष्टले २ रनको योगदान गर्दा करिस्मा शाहीले १ रन जोडिन् ।

कर्णालीले अतिरिक्त ४ रन पाएको थियो । पुलिसका सवनम राई, संगिता राई, कविता जोशी, इश्वरी विष्ट र हिरण्यमाइ रोयले एक एक विकेट लिए । पहिला ब्याटिङ गर्दा पुलिसका लागि सम्झना खतिवडाले सर्वाधिक २५ रन बनाउँदा काजल श्रेष्ठ र कविता कुँवरले समान १६–१६ रनको योगदान गरे ।

यसैगरी रेवती धामीले १४ रन बनाउँदा कप्तान रुविना क्षेत्रीले नटआउट ९ रनको पारि खेलिन ।कविता जोशी ८ रनमा रनआउट भइन् ।कर्णालीका लागि अन्जु गुरुङले सर्वाधिक ३ विकेट लिँदा विना थापा र एन्जिला क्षेत्रीले एक एक विकेट लिए ।

प्रकाशित मिति: २०२२-१०-१० , समय : १४:११:५१ , २ वर्ष अगाडि