रुपन्देही खबर , २३३ पटक हेरिएको
कपिलवस्तु, असोज २४
कपिलवस्तुबाट आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि एक सय ४६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । जिल्लाका तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्रतर्फ गरी उक्त सङ्ख्यामा आइतबार उम्मेदवारी दर्ता गराएका हुन् । जिल्लामा प्रतिनिधिसभा क्षेत्र नं १ बाट २२ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । यस क्षेत्रबाट सत्ता गठबन्धनले नेकपा (माओवादी केन्द्र)का चक्रपाणि खनाललाई उम्मेदवार बनाएको छ ।
नेकपा (एमाले)ले बलराम अधिकारीलाई उम्मेदवार बनाएको छ । प्रदेशसभा–१ (क)तर्फ भने सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका डोलकराम घिमिरेले र एमालेलेका तर्फबाट विष्णु पन्थीले मनोनयन दर्ता गराउनुभएको छ । प्रदेशसभा (ख) तर्फ सत्ता गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी)ले फैजल खानलाई उम्मेदवार बनाएको छ । माओवादी, कांग्रेसले सहसराम यादवलाई उम्मेदवार बनाएको छ । यादव जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरी कांग्रेसमा आएर टिकट पाउनुभएको हो । यहाँ एमालेले मधुसुदन शरण चौधरीलाई उम्मेदवार बनाएको छ। प्रतिनिधिसभा–२ मा ११ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
यहाँ सत्ता गठबन्धनले कांग्रेसका सुरेन्द्रराज आचार्यलाई उम्मेदवार बनाएको छ । एमालेले वृजेशकुमार गुप्तालाई उठाएको छ । प्रदेश सभा–२ (क) मा सत्ता गठबन्धन बाट कांग्रेसका विक्रमसिंह थापाले मनोनयन दर्ता गराउनुभएको छ । एमालेबाट नवराज लामिछानेले मनोनयन दर्ता गराउनुभएको छ । प्रदेशसभा–२ (ख) मा सत्ता गठबन्धनले कांग्रेसबाट सुधाकर पाण्डेयलाई उम्मेदवार बनाएको छ ।
एमालेले धर्मबहादुरलाल श्रीवास्तवलाई उम्मेदवार बनाएर मनोनयन दर्ता गराएको छ। प्रतिनिधिसभा–३ मा १८ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धनबाट कंग्रेसका अभिषेकप्रताप साहले मनोनयन दर्ता गराउनुभएको छ । एमालेले मङ्गलप्रसाद गुप्तालाई उठाएको छ । प्रदेशसभा–२ (क) मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका एहसान खान उम्मेदवार बन्नुभएको छ । एमालेले अर्जुन केसीको मनोनयन दर्ता गराएको छ । प्रदेशसभा–३ (ख)मा सत्ता गठबन्धनबाट वीरेन्द्र कानौडिया र एमालेबाट रजाउर्मान खाँले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । (रासस)
प्रकाशित मिति: २०२२-१०-१० , समय : १०:४०:४६ , २ वर्ष अगाडि