स्वदेशी बजारमै सामान खरिद गर्न उद्योग व्यापार संगठन रुपन्देहीको आग्रह

रुपन्देही खबर , २६०  पटक हेरिएको

भैरहवा, असोज १४

चाडपर्व, विवाह, व्रतबन्ध लगायतका नाममा सीमा पारी सुनौली, नौतनवा पुगेर सामान खरिद गर्ने प्रवृत्तिलाई हटाउनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले स्वदेशी बजारमै सामान किनेर स्थानीय बजारको प्रवर्द्धन गर्न आवश्यक रहेकोमा जोड दिएका छ्न । नेपालको पैसा नेपालमै खर्च गर्दै यहाँको आर्थिक गतिविधिलाई चलायमान बनाउन आवश्यक रहेको उनीहरुको भनाइ छ ।

उद्योग व्यापार संगठन, रुपन्देहीले विजया दशमी, दिपावली, छठ पर्व तथा नेपाल सम्वतको अवसरमा बुधबार भैरहवामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने सहभागीहरुले सीमा पारी नेपाली उपभोक्ताको भिडभाड हुँदा नेपालका बजार सुनसान रहेको भन्दै चिन्ता व्यक्त गरेका छ्न ।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले थोरै नाफा लिएर धेरै सामान विक्री गर्न व्यवसायीहरुलाई आग्रह गर्नु भएको छ । उहाले सिद्धार्थनगरलाई नेपालको उत्कृष्ट शहरको रुपमा विकसित गर्ने दावी गर्नु भएको छ । नगरप्रमुख खानले अनियमित विद्युत कटौती, बढ्दो बैंक ब्याजदरले उद्योगी, व्यवसायी तथा आम नागरिक समस्यामा परेको बताउनु भएको छ ।

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले नगरपालिका सम्पूर्ण पक्षसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनु भएको छ । उहाले समस्या समाधानको लागि आफूबाट सुरु गर्नुपर्ने बताउनु भयो । उहाले भन्नु भयो ‘सामान किन्न सुनौली जान्छौं, यो कदम रोक्न आफैबाट सुरुवात गरौं र सबैलाई आग्रह गरौं ।’

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले स्वदेशी बजारमै सस्तो सामान पाइन्छ भन्ने सन्देश दिन आवश्यक रहेको बताउनु भएको छ ।

उद्योग व्यापार संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष तथा भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले अनियमित विद्युत कटौतीले अफ्ठयारो अवस्था सिर्जना भएको बताउनु भएको छ । उहाले भन्नु भयो , ‘बैंक ब्याजदर कम गर्नुपर्छ, सीमा वारि सुनसान हुँदा पारी उपभोक्ताको भिड छ, यहाँको बजार गुल्जार बनाउनुपर्छ ।’

नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका उपनिर्देशक जीवन प्रकाश पाण्डेले बढ्दो आयातले समस्या पारेको बताउनु भएको छ ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका सहायक प्रशासकीय अधिकृत अनुप प्रसाद पाण्डेय, लुम्बिनी चेम्बर अफ कमर्सका महासचिव जेपी कंडेल, उद्योग व्यापार संगठन रुपन्देहीका पूर्वअध्यक्ष खिम बहादुर खत्री, सल्लाहकार ज्ञानु पौड्याल, विश्वराज बराल (अनुप), नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगरका अध्यक्ष मधु प्रसाद पन्थी, लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीका महासचिव दीपक पौडेल, आस्था महिला उद्यमी संघ सिद्धार्थनगरकी अध्यक्ष विन्दु न्यौपाने, जेसीआई सिद्धार्थ लेडी नेपालकी अध्यक्ष अनुपा पाण्डे, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना, गैरसरकारी संस्था महासंघ, नेपालका केन्द्रीय सदस्य गोविन्द प्रसाद रेग्मी, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका महासचिव राजेश महोत्रा, उद्योग व्यापार संगठन रुपन्देही लुम्बिनी शाखाका अध्यक्ष कृष्ण बहादुर गुरुङ, ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय भैरहवाकी अध्यक्ष शान्ति सुवेदी लगायतले बोल्नु भएको थियो ।

उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, कार्यक्रम संयोजक माया खनालको स्वागत, वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठको धन्यवाद ज्ञापन तथा महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

श्रोत :ग्लोबलआवाज

प्रकाशित मिति: २०२२-०९-३० , समय : १५:१२:५२ , २ वर्ष अगाडि