बिवेक बिश्वकर्मा , ११९४ पटक हेरिएको
भैरहवा, असोज ११
रुपन्देहीको ओमसतिया गाउँपालिकाले बिजया दशमी, दिपावली, नेपाल सम्बवत तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपालीहरुको महान पर्व बिजया दशमीको अवसर पारेर गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधिहरुले रक्तदान गरेका छन् ।
पर्वको समयमा रगतको अभाव नहोस भन्ने उद्देश्यले शुभकामना संगै रक्तदान पनि गरिएको स्वास्थ्य शाखा प्रमुख दिपक ज्ञवालीले जानकारी दिनु भएको छ । उहाले उक्त कार्यक्रममा १९ जनाले रक्तदान गरेको बताउनु भएको छ ।
यस्तै गरी कार्यक्रममा बोल्दै ओमसतिया गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले दशैं पर्व हर्षोउल्लासका साथ मनाउदा अरुलाई बाधा नपरोस भनि ख्याल गर्न आग्रह गर्नु भएको छ । उहाले असत्य माथी सत्यको जित भएको प्रतिकको रुपमा मनाईने दशैं पर्वलाई संयमताका साथ मनाउन अपिल गर्नु भएको छ ।
अहिले डेंगुको प्रकोप रहेको हुदा यसबाट सचेत रहन आग्रह गर्दै उहाले दशैं तिहारमा आफ्नो वरपर सरसफाई गर्न पनि आग्रह गर्नु भएको छ ।
ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सागर गौतमको अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष बेल बहादुर बराल, कार्यपालिकाका सदस्यहरु, वडा सदस्यहरु, पालिकाका बिभिन्न शाखाका शाखा प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शारदा शर्माले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२२-०९-२७ , समय : १९:०३:५३ , २ वर्ष अगाडि