चाडपर्वको समयमा रुपन्देहीमा १ हजार २ सय ४८ प्रहरी जनशक्ति परिचालन गरिने

चाडपर्व लक्षित अपराध रोक्न बिशेष सुरक्षा योजना सार्वजनिक

उर्मिला यादव यात्री , २८७  पटक हेरिएको

भैरहवा, असोज १०

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्व लक्षित अपराध रोक्न बिशेष सुरक्षा योजना सार्वजनिक गर्दै जिल्लामा १ हजार २ सय ४८ प्रहरी जनशक्ति परिचालन गर्ने जनाएको छ नेपालीहरुको महान पर्व बडादशै, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै जिल्लाको शान्ति सुरक्षाको स्थितिलाइ मजबुत बनाउन र ट्राफिक व्यवस्थापनको लागि उक्त संख्यामा प्रहरी परिचालन गर्ने भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आइतबार भैरहवामा पत्रकार सम्मेलन गर्दै चाड पर्वमा अपराधिक क्रियाकलापहरु बढन सक्ने भएकोले सो को नियन्त्रण र न्यूनीकरणका लागि सुरक्षा रणनिति सार्वजनिक गरिएको जनाएको छ ।

पत्रकार सम्मेलनमा रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले चाडपर्वमा अपराधिक क्रियाकलापहरुको नियन्त्रण र न्यूनीकरण, बिसंगति र विकृति विरुद्ध प्रहरी परिचालन गरिएको बताउनु भएको छ । उहाले सीमा एरियामा कडा चेकजाँचको व्यवस्था मिलाइएको बताउदै चाडपर्वमा पटका, आतसबाजीको प्रयोग गर्न नदिने र गर्नेलाई पक्राउ गरी कारवाही गर्ने समेत बताउनु भएको छ ।


चाडपर्वमा जबरजस्ती चन्दा उठाउने र जुवाजन्य खेलहरुको नियन्त्रण गर्न प्रहरीले सादा पोशाकका प्रहरी परिचालन गर्ने योजना ल्याएको र जुवा, चन्दा लगायतका गतिविधिहरुको गोप्य रुपमा सूचना संकलन गरि कार्यवाहीको दायरामा ल्याउने प्रहरी प्रमुख रेग्मीले जानकारी दिनु भएको छ।

यस्तै राजमार्ग लक्षित गरि रातीको समयमा गस्ती बढाउने योजना रहेको डिएसपी श्यामु अर्यालले जानकारी दिनु भएको छ । प्रहरीका बिभिन्न युनिटहरुले विगतमा आ–आफ्ना एरियामा घटेका घटनाहरूलाई मध्ये नजर राखी पैदल, साईकल, मोटर साईकल र गाडी गस्ती परिचालन गरिने उहाले जानकारी दिनु भएको छ ।

बेलहिया,भैरहवा र बुटवल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । बिभिन्न मठ मन्दिर, पुजा अर्चना गर्ने स्थान, दुर्गाको मूर्तिहरु ल्याउने र बिर्सजन गर्ने समयमा सुरक्षा ब्यवस्था मिलाइने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

चाडपर्वमा बजार अनुगमन गरी कालोबजारी रोक्ने र कृत्रिम अभाव सिर्जना हुन नदिने प्रहरीले जनाएको छ । यस्तै गरी तिहारमा राती १० बजे सम्म मात्र देउसी भैलो खेल्ने समय निर्धारण गरिएको अर्यालले जानकारी दिनु भएको छ ।

यस्तै गरी चार्डपर्वको समयमा बढि भिडभाड हुने बजार,हाटबजारहरुमा पैदल गस्ति, मोवाईल गस्ति गरी बिभिन्न प्रकारका अपराधीक कृयाकलापहरु विरुद्ध प्रहरी परिचालन गरिने अर्यालले जानकारी दिनु भयो । यसको अतिरिक्त चाडपर्व लक्षित अपराध बढन् सक्ने भएकोले नागरिकलाई पनि चनाखो हुन प्रहरीले अपिल गरेको छ ।

प्रकाशित मिति: २०२२-०९-२६ , समय : १६:३५:०० , २ वर्ष अगाडि